काठमाण्डौ – हिजो उच्च अङ्कले बढेको शेयर बजार आज भने सामान्य घटेको छ । शेयर बजार परिसूचक नेप्से आज दुई दशमलव ४८ अङ्कले घटेर दुई हजार एक सय ८ दशमलव ७२ विन्दुमा पुगेको छ ।

आज बैंकिङ, होटल, जलविद्युत्, लगानी, उत्पादन र निर्जीवन बीमा समूहको शेयर सामान्य घटेको छ, अरू समूहको शेयर सामान्य बढेको छ । आज सबैभन्दा धेरै माथिल्लो तामाकोशी जलविद्युत् कम्पनीको शेयर १० प्रतिशतले घटेको छ । समग्रमा बजार घटेको दिन आज वीन नेपाल लघुवित्तको शेयर १० प्रतिशत र उन्नति सहकार्य लघुवित्तको शेयर साढे नौ प्रतिशतले बढेको छ ।

आज एक करोड आठ लाख ८९ हजार कित्ता शेयर चार अर्ब २४ करोड ८५ लाख रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै शिवम् सिमेन्ट्स लिमिटेडको २५ करोड ५३ लाख रुपैयाँमा किनबेच भएकाे छ ।

तपाईको प्रतिक्रिया