काठमाडौँ । विश्व कीर्तिमानी गीतकार तथा उपन्यासकार डा. डीआर उपाध्यायको नयाँ गीत ‘राखी रहु आँखामा…’ सार्वजनिक भएको छ । उपाध्यायकै स्वर, सागर अधिकारी ‘शरद’को सङ्गीत, राजु कार्कीको सङ्गीत संयोजन र प्रकाश विष्टको माष्टरिङ रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।
सुभाष श्रेष्ठ प्रधानको निर्देशन रहेको गीतको भिडियोमा मञ्जु खड्का क्षेत्री र रमेश थापालाई फिचरिङ गरिएको छ । तनहुँ जिल्लाको विमलनगरमा अवस्थित सिद्ध गुफा भित्र छायांकन गरिएको गीतको भिडियोमा विनोद तामाङले खिचेको हो भने पदम सुवेदीको सम्पादन छ । गीतको भिडियो डीआर म्युजिक एण्ड क्रियशन युट्युवमार्फत सार्वजनिक गरिएको हो ।
डा.उपाध्यायले विभिन्न विधामा १३३ विश्व कीर्तिमान कायम गरेका छन् । यस्तै, उनका एक दर्जन बढी उपन्यास, तीन गीति पुस्तक र ३६ एल्बम सार्वजनिक भएका छन् । दुई सय पचासको हाराहारीमा गीत सार्वजनिक गरेका उपाध्यायका सयौं गीतका भिडियो पनि सार्वजनिक छन् ।

तपाईको प्रतिक्रिया