विराटनगर ÷ विराटनगरमा मलामीका लागि निःशुल्क रुपमा उपलब्ध गराइँदै आएको बसका लागि महानगरपालिकाले इन्धन उपलब्ध गराउने भएको छ ।

विराटनगरका युवा करिम अन्सारीले निःशुल्क रुपमा उपलब्ध गराउँदै आएको मलामी बसका लागि महानगरले इन्धन उपलब्ध गराउने भएको हो । विराट सेवा आश्रमसँगको सहकार्यमा विराटनगर वडा नम्बर १० ले अन्सारी र ज्येष्ठ नागरिकको सम्मानका लागि राखेको कार्यक्रमलाई सम्बोधन गर्दै मेयर नागेश कोइरालाले मलामीका लागि निःशुल्क बस सेवा उपलब्ध गराएर उदाहरणीय कार्य गरेको भन्दै महानगरका तर्फबाट मासिक इन्धन उपलब्ध गराउने घोषणा गर्नुभयो । उहाँले भन्नुभयो, “यस्तो पवित्र कार्यमा महानगरपालिका पनि सहभागी हुन चाहन्छ । बसका लागि आवश्यक पर्ने इन्धन महानगरपालिकाले मासिक रुपमै उपलब्ध गराउनेछ ।” सो अवसरमा अन्सारीलाई वडाका तर्फबाट सम्मान गरिएको थियो । ब्लाङ्केट, छाता, हर्सिस, फलफूल प्रदान गरेर मेयर कोइरालाले ज्येष्ठ नागरिकलाई सम्मान गर्नुभएको थियो । वडाभित्र बसोबास गर्ने १ सयजना सम्मान गरिएको वडाध्यक्ष अर्जुन गिरीले जानकारी दिनुभयो । कार्यक्रममा मेयर कोइरालाले ज्येष्ठ नागरिकका ज्ञान र अनुभवलाई समाजले अनुशरण गर्नुपर्नेमा जोड दिनुभयो । मेयर कोइरालाले ज्येष्ठ नागरिकका अनुभव, ज्ञान र सीपलाई अनुशरण नगरेकै कारण समाज पछाडि परेको जिकिर गर्नुभयो । अनुभवसँगै ज्ञान, संस्कारसमेत ज्येष्ठ नागरिकबाट सिक्नु जरुरी रहेको उहाँको भनाइ थियो । मेयर कोइरालाले महानगरपालिकाले ज्येष्ठ नागरिकलाई उच्च प्राथमिकतामा राखेर काम गरिरहेको सुनाउनुभयो । महानगरले हेर्नुपर्ने धेरै क्षेत्र भए पनि १९ वटै वडामा घर–घर पुगेर ज्येष्ठ नागरिकको स्वास्थ्य चेकजाँच गर्नुका साथै निःशुल्क औषधिसमेत वितरण गर्दै आएको जानकारी दिनुभयो ।

सो अवसरमा मेयर कोइरालाले ज्येष्ठ नागरिकहरुलाई ब्लाङ्केट, छाता, लौरो, हर्सिस, फलफूल प्रदान गरेर सम्मान गर्नुभयो । त्यसैगरी सोही अवसरमा मलामीलाई निःशुल्क बस सेवा प्रदान गर्दै आउनुभएका करिम अन्सारीलाई पनि सम्मान गरिएको थियो । मेयर कोइरालाले अन्सारीलाई माला लगाएर सम्मानपत्र प्रदान गर्नुभएको थियो । कार्यक्रममा वडाध्यक्ष अर्जुन गिरी, विराट सेवा आश्रमका संस्थापक सदस्य गोपाल पाण्डे, कार्यक्रम संयोजक सुनिता देवकोटालगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

तपाईको प्रतिक्रिया