काठमाडौँ — वामपन्थी नेता प्रदीप नेपालको निधन भएको छ । थापाथलीस्थित नर्भिक अन्तर्राष्ट्रिय अस्पतालमा उपचारका क्रममा मंगलबार दिउँसो नेता नेपालको निधन भएको अस्पताल उच्च स्रोतले जनाएको छ । उनी ७१ वर्षका थिए ।
अस्पतालको सघन उपचार कक्ष(आईसीयू)मा उपचाररत नेपालको केही समयअघि निधन भएको उपचारमा संलग्न चिकित्सकले बताएका छन् ।
उनी केही दिनदेखि अस्पताल भर्ना भए पनि सोमबार आईसीयूमा सारिएको थियो । उनी लामो समयदेखि पार्किन्सन्स रोगबाट ग्रसित थिए । पछिल्लो समय पार्किन्सन्ससँगै निमोनिया पनि देखिएको थियो ।
उनी मनमोहन अधिकारी नेतृत्वको सरकारमा सूचना तथा सञ्चारमन्त्रीसमेत बनेका थिए । त्यस्तै २०६३ मा गिरिजाप्रसाद कोइराला नेतृत्वको अन्तरिम सरकारमा शिक्षा तथा खेलकुदमन्त्री बनेका थिए ।
पछिल्ला वर्षमा भने उनी राजनीतिमा सक्रिय थिएनन् । नेपाल साहित्यकारसमेत हुन् । नेपाली साहित्यिक क्षेत्रमा उनी सञ्जय थापाका नामले परिचित छन् । उनले एक दर्जनभन्दा बढी उपन्यास लेखेका छन् । एमाले महासचिव मदन भण्डारीबारे नेपालले ‘बर्बरिक’ उपन्यास लेखेका छन् ।
त्यस्तै ‘एक्काइसौँ शताब्दीकी सुम्निमा’, ‘बाघमारेको लालसलाम’, ‘देशको खोजी’, ‘पाइला छाडेर अस्ताएको घाम’, ‘आमाको मन’, ‘सञ्जय थापाका कथाहरू’, ‘जननी जन्मभूमिश्च’, ‘फेवाको सुस्केरा’, ‘देउमाईको किनारमा’ लगायतका कृति प्रकाशित छन् ।