भारतले दुई देशबीच भएको युद्धविरामको सहमति पाकिस्तानले राति उलङ्घन गरेको आरोप लगाएको छ । भारतका विदेश सचिव विक्रम मिश्रीले गएराति विशेष प्रेस ब्रिफिङ गरी हिजो अपराह्न दुई देशबीच भएको सहमतिलाई पाकिस्तानले उलङ्घन गरेको प्रतिक्रिया दिनुभएको छ । पाकिस्तानको तर्फबाट सहमतिको उलङ्घन भएको र यो एकदमै निन्दनीय रहेको उहाँको भनाइ छ ।
विदेश सचिव मिश्रीले भारतीय सेनाले जवाफी कारबाही गर्नुका साथै सीमामा आक्रमणसँग जुधिरहेको बताउनुभयो । भारत र पाकिस्तानबीच सहमति भएको घोषणा गरिएको केही घण्टापछि नै जम्मूकश्मीरका मुख्यमन्त्री उमर अब्दूल्लाहले श्रीनगरमा विस्फोटका आवाजहरू सुनिएका बताउनुभएको थियो ।
पाकिस्तानले जम्मूकश्मीर, राजस्थान, पञ्जाब र गुजरातमा गोलाबारी र ड्रोन आक्रमण गरेको भारतको आरोप छ । तर भारतको पछिल्लो आरोपमा पाकिस्तानको टिप्पणी वा प्रतिक्रिया आइसकेको छैन । त्यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारत र पाकिस्तानकाबीच तत्काल र पूर्ण युद्धविराम गर्ने सहमति बनेको जानकारी दिनुभएको थियो ।
भारतका विदेश सचिव मिश्रीले पनि त्यस्तो जानकारी दिँदै दुवै पक्षबीच बेलुका पाँच बजेपछि नै गोलाबारी र सैन्य कारबाही रोक्ने सहमति भएको बताउनुभएको थियो । भारतको ‘अपरेशन सिन्दूर’विरुद्ध पाकिस्तानले हिजो बिहान जवाफी कारबाही थालेको र यसलाई ‘बुनयान–उल–मरसूस’ को नाम दिएको जनाएको थियो ।