विराटनगर, ३० बैशाख
गीतकार नारायण खतिवडाको शब्द सिर्जना, वरिष्ठ संगीतकार लक्ष्मण शेषको संगीत तथा चर्चित गायक स्वरूपराज आचार्यको स्वरमा रहेको नयाँ गीत ‘स्वार्थी संसार’ सार्वजनिक भएको छ। गीतलाई नमस्ते नेपाल डिजिटल स्टुडियोमार्फत युट्युबसहित अन्तर्राष्ट्रिय अडियो तथा भिडियो प्लेटफर्महरूमा सार्वजनिक गरिएको हो।

मानव स्वार्थ, अवसरवादिता र सम्बन्धहरूको बदलिँदो स्वरूपमाथि प्रश्न उठाउने यस गीतले समाजमा व्याप्त स्वार्थी मानसिकतालाई कलात्मक ढंगले प्रस्तुत गरेको छ। गीतमा मान्छेहरू समयसँगै कसरी स्वार्थप्रेरित बन्दै गएका छन्, सम्बन्धलाई उपयोग गरेर फ्याल्ने प्रवृत्तिबाट पीडित अनुभवहरूलाई भावपूर्ण शैलीमा अभिव्यक्त गरिएको छ।

गीतकार नारायण खतिवडा सरकारी सेवासँगै साहित्य, गीत, कविता र समसामयिक लेखनमा क्रियाशील सशक्त स्रष्टा हुन्। उनका यसअघि पनि ‘सम्झनाका पाइलाहरू’ नामक गीति संग्रहसहित स्वदेश छोडी, मनका कुरा, विन्दास, सन्देश पु¥याइदेउ, मेरो कथा, चोखो चोखो लगायतका दर्जनौं गीतहरू बजारमा आइसकेका छन्।

यस गीतमार्फत लामो समयपछि संगीतमा पुनरागमन गरेका संगीतकार लक्ष्मण शेषको मौलिक संगीत सिर्जना र स्वरूपराज आचार्यको सशक्त गायनले गीतलाई थप सशक्त बनाएको छ। गीतकार, संगीतकार र गायकबीचको त्रिकोणात्मक समन्वयले ‘स्वार्थी संसार’लाई समसामयिक सन्देश बोकेको अर्थपूर्ण र सशक्त गीतको रूपमा स्थापित गराएको छ।

गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस ।

तपाईको प्रतिक्रिया