कविता कुँवरको उत्कृष्ट बलिङ बावजुद नेपालले थाइल्यान्डमा भएको आइसिसी टी ट्वान्टी विश्वकप एसिया छनोटमा पहिलो हार सामना गरेको छ।

नेपाल मंगलबार हङकङसँग डकवर्थ लुइस नियम (डिएलएस) का आधारमा सात विकेट स्तब्ध भएसँगै जारी छनोटमा पहिलो हार सामना गरेको हो। वर्षाका कारण टसमा ढिलाइ भएपछि खेललाई पाँच ओभरमा झारिएको थियो।

उक्त खेलमा नेपाली टोली खुलेर ब्याटिङ गर्न सकेन र सामान्य लक्ष्य दियो। जबाफमा कविताले उत्कृष्ट प्रदर्शन गरे पनि नेपालले उक्त लक्ष्य जोगाउन सकेन। नेपालले जारी छनोटमा पहिलो हार सामना गर्‍यो। समूहका हरेक टोलीले एकआपसमा समान दुई खेल खेल्नेछन्। त्यसपछि समूहको शीर्ष टोली अर्को चरण (सुपर थ्री) मा पुग्नेछ। तीनै समूहको शीर्ष टोलीले सुपर थ्रीमा प्रतिस्पर्धा गर्नेछन्। हङकङसँगको हारले समूहको शीर्ष स्थानमा पुग्ने नेपालको झिनो सम्भावना मात्र बाँकी छ।

सुपर थ्रीको प्रतिस्पर्धाबाट शीर्ष दुई टोलीले ग्लोबल छनोटमा स्थान बनाउनेछन्। यो जितसँगै तीन खेलबाट चार अंक जोड्दै हङकङ समूह ‘सी’ को शीर्ष स्थानमा उक्लिएको छ। नेपाल समान खेलबाट तीन अंकका साथ दोस्रो स्थानमा छ। यसअघि हङकङसँगको पहिलो खेल वर्षाका कारण रद्द हुँदा नेपालले अंक बाँड्नुपरेको थियो।

दोस्रो खेलमा नेपालले बहराइनविरुद्ध ९ विकेटको जित निकालेको थियो। यसअघिका दुई खेलमा हङकङले अंक बाँडेको थियो। हङकङ र बहराइनबीचको खेल पनि रद्द भएको थियो। मंगलबार नेपाल र हङकङबीचको खेल पनि वर्षाले प्रभावित हुँदा पाँच ओभरमा झारिएको हो।

बैंककस्थित टेर्डथाई क्रिकेट मैदानमा नेपालले ३० रनको सामान्य लक्ष्य दियो। तर, हङकङले तीन बल बाँकी रहँदा तीन विकेट गुमाउँदै लक्ष्य पूरा गर्‍यो। पहिलो दुई ओभरमा कविता कुँवर र पूजा महतोले किफायती बलिङ गरे। दुई ओभर सकिँदा हङकङ ८/२ को अवस्थामा थियो। कविताले दुई विकेट लिँदा दुई रन मात्र दिइन्।

पूजाले पनि ६ रन दिइन्। तेस्रो ओभरमा रिया शर्माले पनि ६ रन मात्र दिइन्। तर, चौथो ओभर भने महँगो बन्यो। यस ओभरमा पूजाले १३ रन बेहोरेपछि हङकङ जितनजिक पुग्यो। हङकङका ओपनर सान्जिन शहजादले अविजित १५ र मारिको हिलले ११ रन बनाए।

केरी च्यान र कप्तान नातास माइल्स शून्यमा नै पेभेलियन फर्किए। नेपालको बलिङमा कविता कुँवरले दुई विकेट लिइन्। त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा तीन विकेट गुमाउँदै २९ रनको योगफल बनाएको थियो।

कुनै पनि ब्याटरले खुलेर प्रदर्शन गर्न नसक्दा नेपाली टोली सस्तैमा रोक्यो। सम्झाना खड्काले १० रन बनाए। उनले सात बलमा एक चौका प्रहार गरिन्। नेपालका लागि एक मात्र बाउन्ड्री सम्झनाले नै हिर्काइन्। अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन्। कप्तान इन्दु बर्माले १० बलमा ९ रनमा र रुबिना क्षेत्री चार रनमा अविजित रहे। पूजा महतो तीन र कविता कुँवर दुई रन बनाएर आउट भए। हङकङको बलिङमा तीनै विकेट एलिसन सिउले लिइन्। अब नेपालले बिहीबार बहराइनसँग खेल्नेछ।

तपाईको प्रतिक्रिया