– विराटनगर
कोशी प्रदेश खेलकुद विकास बोर्डले हालै प्रदेशका विभिन्न पहाडी जिल्लामा रहेका खेलकुद संरचनाको अनुगमन तथा सरोकारवालाहरूसँग अन्तरक्रिया सम्पन्न गरेको छ। बोर्डले खेलकुद क्षेत्रका आवश्यकता, चुनौती तथा आगामी बजेटका प्राथमिकता निर्धारण गर्न खेलकर्मी, जनप्रतिनिधि तथा निजी क्षेत्रसँग संवाद गर्दै आएको छ।
प्रदेशका १४ वटै जिल्लाको खेलकुद संरचनाको अभिलेखन तथा निरीक्षणको उद्देश्यसहित संचालित अभियान अन्तर्गत हालसम्म खोटाङ, ओखलढुङ्गा र सोलुखुम्बु जिल्लामा कार्यक्रम सम्पन्न गरिएको बोर्डका कार्यालय प्रमुख कालिदास भट्टराईले जानकारी दिनुभयो।
अनुगमनका क्रममा खोटाङमा जिल्ला खेलकुद विकास समिति कार्यालय र खोटाङ बहुउद्देश्यीय कभर्डहल, ओखलढुङ्गामा समिति कार्यालय, निर्माणाधीन कभर्डहल र खेलमैदान तथा सोलुखुम्बुमा योङ्ग स्टार बहुउद्देश्यीय कभर्डहल लगायतका संरचनाको अवलोकन गरिएको थियो।
ओखलढुङ्गामा सम्पन्न अन्तरक्रिया कार्यक्रममा बोल्दै कोशी प्रदेश सभा सदस्य तथा पूर्वमन्त्री प्रदिप सुनुवारले सानो स्तरको व्यवसायिक खेल संरचनाको विकासका लागि स्थानीय तह र निजी क्षेत्रबीच सहकार्य अपरिहार्य रहेको धारणा व्यक्त गर्नुभयो। उहाँले राज्यको खर्च क्षमता सीमित हुने भएकाले वैकल्पिक साझेदारीको अभ्यास गर्न सुझाव दिनुभयो।
त्यस्तै, सोलुखुम्बुमा आयोजित अन्तरक्रियामा प्रदेश सभा सदस्य तथा पूर्वमन्त्री बुद्धिकुमार राजभण्डारीले इमान्दारिताका साथ कार्य गरे मात्र जिल्लास्तरीय खेलकुद विकास समितिहरू प्रभावकारी बन्ने बताउनुभयो। साथै, खेलाडीहरूलाई अन्यायपूर्ण सर्तहरू स्वीकार नगर्ने संस्कारको विकास गर्न आवश्यक रहेको उहाँको भनाइ थियो।
बोर्डका सदस्य सचिव कृष्ण बस्नेत (पर्शुराम) ले प्रदेशभरका खेलकुद संरचना विभिन्न सरकारी निकाय तथा संघसंस्थाको नाममा रहेकाले अभिलेखनमार्फत तिनलाई एउटै नीतिगत ढाँचामा ल्याउने प्रयास भइरहेको बताउनुभयो। उहाँले अन्तरक्रियामा उठेका महत्त्वपूर्ण विषयहरू समाधान गर्न तथा जिल्लाबाट आएका मागहरू समेट्न प्रदेश सरकार समक्ष बजेट माग अघि सारिने प्रतिबद्धता जनाउनुभयो।