उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आजैदेखि नयाँ बजेटमा गरिएका व्यवस्था लागु गरिने बताउनुभएको छ । उहाँले आजैदेखि प्रभावकारी कार्यान्वयन गरिने दाबी गर्नुभएको छ ।

हिजो संसदको संयुक्त बैठकमा प्रस्तुत आर्थिक वर्ष २०८२–८३ को बजेटबारे मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा भन्नुभयो ‘बजेट कार्यान्वयनका लागि साउन कुर्न पर्दैन । आजैबाट कार्यान्वयन प्रक्रिया थालनी भएको छ ।’

पूर्वतयारीका काम सकिएका आयोजना कार्यान्वयनका लागि साउन नकुर्ने र अहिले नै प्रक्रिया अघि बढाइने उहाँको भनाइ छ । उहाँले यस पटकको बजेट धेरै महत्वाकांक्षी नरहेको बताउनुभयो । बजेटमा पुँजीगत खर्च बढाउने, चालू खर्चलाई निश्चित सीमाभित्र राखिएको र प्रदेश तथा स्थानीय तहमा जाने वित्तीय हस्तान्तरणको रकम बढाउने नीति लिइएको मन्त्री पौडेलले उल्लेख गर्नुभयो

उहाँ राजस्वको लक्ष्य आगामी आर्थिक वर्षको अन्त्यसम्म पूरा हुने आशावादी देखिनुभयो । आन्तरिक ऋणका लागि प्राकृतिक स्रोत तथा वित्त आयोगले तोकेको सीमाभित्रै रहेर अनुमान गरिएको मन्त्रीको दाबी छ ।

तपाईको प्रतिक्रिया