काठमाडौं, १६ जेठ । उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले बाढीबाट हुने क्षति न्यूनीकरणका लागि सरकारले पूर्वसूचना प्रणालीलाई प्राथमिकतामा राखेको बताएका छन् ।
प्रतिनिधिसभा अन्तर्गत रहेको पूर्वाधार विकास समितिको आज सिंहदरबारमा बसेको बैठकमा मन्त्री खड्काले वर्षाद्का कारण हुने क्षतिलाई न्यूनीकरण गर्न सरकारले पूर्वसूचना प्रणालीलाई विशेष प्राथमिकतामा राखेको बताएका हुन ।
“कम्तिमा वडा तहमा कार्यरत जनप्रतिनिधीलाई बाढी पहिरोबारे पूर्वसूचना सम्प्रेषण गर्न सकियो भने क्षति न्यूनीकरण गर्न सकिन्छ भनेर सरकारले काम गरिरहेको छ,”– उनले भने । सामान्यभन्दा बढी पानी पर्ने अनुमान यसवर्ष गरिएकाले सोहीअनुसार पूर्वसूचना प्रणालीलाई मजबुझ बनाउन सरकार लागिरेहको उनको भनाई थियो ।
उनले मौसम पूर्वसूचना प्रणालीको बारेमा जल तथा मौसम विज्ञान विभागमार्फत थप जानकारी लिएर अगाडि बढ्न सके क्षति न्यूनीकरणमा सघाउ पुग्नेसमेत बताए । जनप्रतिनिधी र सरकार बेलैमा जिम्मेवार भए क्षति न्यूनीकरणमा सहयोग पुग्ने उनको भनाई थियो ।
उता, उर्जामन्त्री खड्काले विद्युत विद्येयकलाई कसरी समृद्ध बनाउन सकिन्छ भन्नेबारे मन्त्रालय लागिरहेको बताए । बजेटको विचमा विद्येयक ल्याउन सकिए उर्जा क्षेत्रको विकासमा सहयोग पुग्ने उनको भनाई थियो ।