विराटनगर १६ जेठ । पछिल्लो १० महिनामा कोशी प्रदेशबाट बैदेशिक रोजगारीमा जानका लागि १ लाख ६० हजारले श्रम स्वीकृति लिएका छन् ।

चालु आर्थिक वर्षको साउन देखि बैशाख मसान्त सम्म १ लाख ६० हजार ६७२ जनाले श्रम स्वीकृति लिएको सुरक्षित आप्रवासन (सामी) कार्यक्रम मोरङका संयोजक दीपक राउतले जानकारी दिनुभयो । नेपालबाट प्रति बर्ष करिब ५ लाख भन्दा बढि श्रमशक्ति श्रम बजारमा प्रवेश गर्ने गरेको उहाँले बताउनुभयो ।

मुलुकमा सीमित रोजगारीका अवसर, गरिबी लगायतका कारण वैदेशिक रोजगारी प्रति आकर्षित देखिएको राउतको भनाई छ । नेपालबाट श्रम स्वीकृत लिएर बैदेशिक रोजगारमा जानेको संख्या हाल सम्म ८२ लाख नाघिसकेको छ । दैनिक सरदर २ हजार बढी वैदेशिक रोजगार जाने गरेको वैदेशिक रोजगार विभागको तथ्यांकले देखाएको छ ।

सुरक्षित आप्रवासन कार्यक्रमबारे आज विराटनगरमा आयोजित कार्यक्रममा कार्यक्रम संयोजक राउतले वैदेशिक रोजगारमा जाने संख्याको करिब २१.८२ प्रतिशत संख्या कोशी प्रदेशबाट रहेको बताउनुभयो । उहाँका अनुशार मोरङबाट मात्रै गत वर्ष ३१ हजार ९७ जनाले वैदेशिक रोजगारका लागि श्रम स्वीकृति लिएका छन् । जसमा पुरुष २६ हजार ५८८ र महिला ४ हजार ५०९ जना छन् ।

मोरङबाट चालु आर्थिक वर्षको हाल सम्म २७ हजार ५४० ले श्रम स्वीकृति लिएको कार्यक्रम संयोजक राउतले बताउनुभयो । राउतका अनुशार पछिल्लो ३ वर्षमा कोशी प्रदेशबाट बैदेशिक रोजगारीमा गएकाहरु मध्ये ७७४ जनाको मृत्यु भएको छ ।

आर्थिक वर्ष २०७९–८० मा २९६ जना, आ.व. २०८०–०८१ म ३२३ जना आ.व. २०८१–०८२ को पुस सम्म १५५ जनाको मृत्यु भएको वैदेशिक रोजगार विभागको तथ्याङ्कमा उल्लेख छ ।

तपाईको प्रतिक्रिया