मोरङ,२३ जेठ ः पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली जनताको कठोर संघर्षबाट स्थापित सङघीय लोकतान्त्रिक गणतन्त्रको एउटा महत्वपूर्ण आयाम भनेको स्थानीय तह भएको बताउनु भएको छ।
विराटनगर महानगरपालिकाद्वारा आयोजित पालिकाका उपप्रमुख तथा उपाध्यक्षहरुको दुई दिने राष्ट्रिय सम्मेलनको आज उद्घाटन गर्दै उहाँले स्थानीय तहलाई विकास निर्माणप्रति सक्रिय, जागरुक र जवाफदेही बनाउन सफल भएको विचार राख्नु भयो ।
पूर्व राष्ट्रपति भण्डारीले भन्नु भयो,‘ महिला नेतृत्वले स्थानीय तहमा प्राप्त गरिरहेको भूमिकाले समावेशिता, जवाफदेहिता र लोकतान्त्रिक अभ्यासलाई थप सुदृढ एवं सशक्त बनाइरहेको छ ।’
उहाँले सङ्घीय प्रणाली अन्तरगत हाम्रो संविधानले स्थानीय पूर्वाधार निर्माण, विद्यालयको व्यवस्थापन, आधारभूत स्वास्थ्य सेवा, वातावरण तथा जैविक विविधताको संरक्षण, कृषि प्रवद्र्धन, सामाजिक सुरक्षा, स्वास्थ्य सेवा, सरसफाई लगायतका विषयमा स्थानीय सरकारलाई अग्रणी भूमिका प्रदान गरेको उल्लेख गर्नु भयो
उहाँले भन्नु भयो ‘हामीले प्राप्त गरेको लोकतान्त्रिक गणतन्त्र केवल शासन प्रणाली मात्र नभई अब एउटा जीवन पद्दतिको रूपमा विकसित भएको उल्लेख गर्दै गणतन्त्रको जगमा हामीले विकास निर्माणलाई तीव्रता दिएर जनतालाई सुखी र राष्ट्रलाई समृद्ध बनाउनु लाग्नु पर्छ ।’
पूर्व राष्ट्रपति भण्डारीले मुलुकमा सुशासन र पारदर्शिता आम चासोको विषय बनिरहेको सन्दर्भमा स्थानीय तहका जनप्रतिनिधिहरू सहित सम्बद्ध सबैले यसमा ध्यान पु¥याउनु आजको आवश्यक्ता भएको चर्चा गर्नु भयो ।
उहाँले नेपालको संविधानले सङ्घीय शासन प्रणालीमार्फत स्थानीय तह अर्थात स्थानीय सरकारलाई अधिकार सम्पन्न तथा जनताप्रति उत्तरदायी बनाएको छ भन्दै संवैधानिक व्यवस्थाले महिलाको प्रतिनिधित्व मात्र सुनिश्चित गरेको छैन, नेतृत्वदायी भूमिकामा महिलाको सहभागिता बढाएर विकास निर्माणका सारथी महिला पुरुष दुवै हुन् भन्ने मान्यतालाई पनि स्थापित गरेको उल्लेख गर्नु भयो ।
पूर्व राष्ट्रपति भण्डारीले मुलुकमा राजनीतिक स्थायित्व कायम गरी विकास निर्माणको प्रक्रियालाई तीव्रता दिनु आजको ज्वलन्त आवश्यकता हो भन्दै सबै तहका सरकारहरू राष्ट्रको यस साझा आकङ्क्षालाई आत्मसात गर्नुपर्नेमा जोड दिनु भयो ।

उहाँले स्थानीय तहलाई जनताको घरदैलोमा सेवा पु¥याउँने सुदृढ संयन्त्र बनाउन र विकास निर्माण प्रक्रियालाई तीव्रता दिन प्रचलित कानुन, तथा नीति नियमका दस्तावेजमा उप–प्रमुख तथा उपाध्यक्षहरूको अधिकार, भूमिका र कार्यक्षेत्रलाई स्पष्ट र प्रभावकारी ढङ्गले परिभाषित गरिनु पर्नेमा जोड दिनुभयो ।
कोशी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री रामबहादुर मगरले मानवीय विकास , आर्थिक चलायमानमा प्रदेश सरकारले मुख्य जोड रहेको धारणा राख्नुभयो।
विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइराला,उपप्रमुख शिल्पा निराला कार्की लगायतले पालिकामा विभिन्न दलहरुबाट प्रतिनिधित्व गर्ने जनप्रतिनिधिहरुले जनताको काममा एकजुट भएर काम गर्नुपर्ने सुझाव दिनुभयो ।
सम्मेलनमा २९१ पालिकाका उपप्रमुख र उपाध्यक्षहरुको सहभागिता रहेको छ।

तपाईको प्रतिक्रिया