विराटनगर। विराट कोशी जुडो क्लबको आयोजना र कोशी प्रदेश खेलकुद विकास बोर्डको संयोजनमा सम्पन्न कोशी प्रदेश स्तरीय जुडो प्रतियोगिताको उपाधि सोलुखुम्बु जिल्लाले जितेको छ। जेठ २६ र २७ गते विराटनगर स्थित सहिद रंगशालामा सम्पन्न प्रतियोगितामा विभिन्न तौल प्रतिष्पर्धामा ५ स्वर्ण प्राप्त गर्दै सोलुखुम्बुले उपाधि जितेको हो।

प्रतियोगितामा आयोजक विराट क्लब ४ स्वर्ण ३ रजत र ४ कास्य पदकसहित दोस्रो स्थानमा रहेको थियो भने ३ स्वर्ण सहित ओखलढुङ्गा तेस्रो स्थानमा रहन सफल भएको थियो।

त्यस्तै, प्रतियोगितामा झापाले २ स्वर्ण, ३ रजत र ६ कास्य पदक, ताप्लेजुङ्गले १ स्वर्ण र १ रजत, मोरङले ५ रजत र ८ कास्य जित्न सफल भएको थियो भने धनकुटाले २ रजत, पाँचथरले १ रजत र ३ कास्य र उदयपुरले ४ कास्यमा चित्त बुझाएको प्रतियोगिताकी संयोजक बिना बस्नेतले जानकारी दिनु भयो।

प्रतियोगिताको उत्कृष्ट पुरुष खेलाडी सोलुखुम्बुका नवीन तामाङ्ग र उत्कृष्ट महिला खेलाडी विराट कोशी क्लबकी रिया साह हुनुभएको बस्नेतले बताउनु भयो।

सोही प्रतियोगितामा क्लबले १३ औँ साग गेम्समा स्वर्ण पदक जित्न सफल झापाकी देविका खड्का, तेस्रो र चौथो दक्षिण एसियालीमा पदक प्राप्त विजेता काजी शेर्पा, पेरिस ओलम्पिकमा सहभागी खेलाडी पाँचथरकी मनिता श्रेष्ठ प्रधान र जुडो खेलका अन्तर्राष्ट्रिय निर्णायक ओखलढुङ्गाका सुर्यनारायण श्रेष्ठलाई सम्मान गरेको प्रतियोगिता आयोजक कमिटीका सदस्य विशाल बानियाँले जानकारी दिनुभयो।

तपाईको प्रतिक्रिया