असार १२, दाङ । लोक दोहोरी गीत होस् अथवा आधुनिक गीत सबै गीतहरुमा आफ्नो कला प्रस्तुत गर्न माहिर गायक तथा सर्जक भरत परियारले “बिछोडको पिंडा” बोलको गीतलाई भर्खरै बजारमा ल्याएका छन् । गायक परियारले आफ्नै भरत परियार नामको युट्युब च्यानलमार्फत उक्त गीतलाई सार्वजनिक गरेका हुन् । उक्त गीतमा उनलाई गायिका गायत्री राना मगरले आवाजमा साथ दिएकी छन् ।
राजु श्रेष्ठको शब्द रचना रहेको गीतमा संगीत गायक परियार आफैँले भरेका हुन् भने लक्षुप्रकाश मल्लको संगीत संयोजन रहेको छ । त्यसैगरी उक्त गीतको भिडियोमा नरेन्द्र बहादुर धामीको निर्देशन रहेको छ भने छायांकन सरोज शाहीले गरेका हुन् । त्यस्तै मोडलहरु विजय केसी, निरू मगर, देव कुमारी खड्गीलगायतले भिडियोमा अभिनय गरेका छन् ।
विगतका गीतमा भन्दा यस गीतमा फरकपन दिने प्रयास गरिएको गायक तथा सर्जक भरत परियारले बताएका छन् । हरेक प्रेम जोडीमा विछोडका पीडा र भोग्नुपरेका कथाका शब्द यस गीतमा समावेश गरिएको छ ।
गायक परियारले भाइरलको पछि पर्नु भनेको मौलिक लोक संस्कारलाई दुर्गन्धमा धकेल्नु सरह भएको बाताउँछन् । उनले भने, ‘वास्तविक मौलिक गीतहरुले युट्युबमा भ्युज पाउँदैन, जुन गीत मौलिकताको लयमा रहेको हुँदैन त्यही गीत र भिडियोले धेरै भ्युज बटुलेको हुन्छ ।’ मौलिकतातर्फ सबैले ध्यान दिनुपर्ने गायक परियारको राय छ ।
भिडियो हेर्न तल क्लिक गर्नु होला ।