अभिनेता नीर शाहको दमदार अभिनय रहेको फिल्म ‘परान’ ले घरेलु बक्सअफिसमा अकल्पनीय सफलता बटुलेको छ। प्रदर्शनको २१ औँ दिनमै फिल्मले १२ करोड ६६ लाख रुपैयाँ नेरु ग्रस कारोबार गर्दै २०८२ सालको सबैभन्दा धेरै कमाउने नेपाली फिल्म बन्न सफल भएको छ। सिनेपा बक्सअफिसले बिहीबार साँझ ६ बजेसम्म सार्वजनिक गरेको तथ्यांकअनुसार ‘परान’ ले यस अवधीसम्म अनमोल केसी स्टारर ‘जेरी अन टप’ को १२ करोड १४ लाखको कलेक्सनलाई समेत पछि पार्दै शीर्षस्थान आफ्नो बनाएको हो।
दीपक आचार्य ‘काकु’को निर्देशनमा बनेको यो फिल्मले विकडेजमा पनि दैनिक ३० देखि ५० लाख रुपैयाँसम्मको स्थिर कारोबार गरिरहेकाले यसको कमाइ गति अझै बलियो देखिएको छ। यही कारण आगामी शुक्रबार र शनिबारसम्म फिल्मले १४ करोडको सीमानाछेउ पुग्ने प्रक्षेपण गरिएको छ। फिल्मको लगातार सफलता पछाडि दर्शकबीच फैलिएको शक्तिशाली वर्ड अफ माउथ मुख्य कारक मानिएको छ भने सामाजिक सञ्जालदेखि हलसम्म भरभराउ प्रतिक्रिया आउन थालेपछि ‘परान’ को चर्चा झन् बढेको छ। निर्माण पक्षले फिल्मलाई अन्तर्राष्ट्रिय बजारमा समेत प्रदर्शन गर्ने तयारी अन्तिम चरणमा रहेको जानकारी दिएको छ।
नेपाली चलचित्र उद्योगका लागि ‘परान’को ऐतिहासिक सफलता एक ठूलो उचाइको रूपमा लिइएको छ भने विश्लेषकहरूका अनुसार यसको यो प्रदर्शनले वर्ष २०८२ को बक्सअफिस इतिहासलाई नयाँ दिशामा मोड्ने संकेत दिइरहेको छ।




































