अभिनेता सौगात मल्ल मुख्य भूमिकामा रहेको नयाँ फिल्म ‘बब डाई’ को छायांकन विधिवत् रूपमा सुरु भएको छ। निर्माता सुनिल मानन्धरको प्रस्तुति तथा निर्देशक प्रवीण श्रेष्ठको कमब्याक प्रोजेक्टका रूपमा आएको यो फिल्मकीर्तिपुरको वास्तविक जीवनशैली र स्थानीय कथामा आधारित छ।
छायांकन सोमबार चन्द्रागिरीबाट सुरु भएको निर्माण टिमले जनाएको छ भने फिल्मको अधिकांश भाग कीर्तिपुर र चन्द्रागिरी आसपासका क्षेत्रमै फिल्माइनेछ भने काम पूरा गर्न झण्डै डेढ महिना लाग्ने अनुमान गरिएको छ। निर्देशक तथा दृश्य सम्पादक समेत रहेका प्रवीण श्रेष्ठ दशकपछि पुनः निर्देशनमा फर्कँदै हुनु यस प्रोजेक्टको प्रमुख आकर्षण बनेको छ।
‘बब डाई’ शीर्षकबारे बोलेका श्रेष्ठले नेवारी भाषिक शैलीकै प्रभावमा नाम राखिएको बताएका छन्। ‘दाई’ लाई नेवारी उच्चारणमा ‘डाई’ भनिने भएकाले फिल्मले स्थानीय संस्कृतिलाई झनै प्रस्टसँग प्रस्तुत गर्न यो नाम उपयुक्त ठानेको उनले बताए। फिल्ममा सौगात मल्ल ‘बब डाई’ का रूपमा देखिनेछन्।
सौगातसँगै सिम्रन पन्त, सन्तोष पन्त, विशाल पहाडी, प्रमोद अग्रहरी, कामेश्वर चौरासिया, कुशल पोखरेल, यमन श्रेष्ठ, कृष्णभक्त महर्जन, गीता अधिकारी, भिन्तुना जोशी, नितेश तन्डुकार, मनोज महर्जन र बालकलाकार अग्रिम पण्डित पनि महत्वपूर्ण भूमिकामा देखिनेछन्। फिल्मको निर्माणमा सुनिल मानन्धरसँगै राजेश घिमिरे र रोशन भट्टराई सह-निर्माता रूपमा रहेका छन् भने रविन्द्र प्रजापती कार्यकारी निर्माता हुन्। कीर्तिपुरको समाज, संस्कार र स्थानीय मुडभित्र डुबेको कथाका कारण ‘बब डाई’ प्रति दर्शकहरूको उत्सुकता अहिले नै निकै बढेको छ।



































