सलोन बस्नेत र नम्रता श्रेष्ठको मुख्य भूमिका रहेको फिल्म ‘स्त्री’ आउँदो फागुन २९ गतेदेखि प्रदर्शनमा आउने भएको छ। आइतबार निर्माण पक्षले थिम पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मिति घोषणा गरेको हो भने पोस्टरमा रगत मात्र देखाइएकाले चलचित्र महिलाको महिनावारी (रजस्वला) सम्बन्धी सामाजिक तथा संवेदनशील विषयमा आधारित रहेको संकेत गर्छ।

जीवन शाहीको निर्देशनमा तयार भएको यस फिल्ममा सलोन–नम्रतासँगै प्रमोद अग्रहरी, रिस्ता बस्नेत, दिनेश डिसी, दीपाश्री निरौला, दिप्सन चिलवाल (बाल कलाकार) लगायतको दमदार अभिनय रहेको छ। फिल्ममा निर्देशक शाहीकै कथा समावेश छ भने किशन अर्यालले पटकथा लेखनमा साथ दिएका छन्।

समीर राई निर्माताको रूपमा रहेको फिल्म मेला रेकर्डिङ स्टुडियोको ब्यानरमा निर्माण भएको हो। त्यस्तै चलचित्रमा रामशरण उप्रेतीको छायांकन, बाबुल गिरीको संगीत, देव महर्जनको द्वन्द्व निर्देशन तथा सुकनिता चौलागाईंको ड्रेस डिजाइन रहेको छ भने सह–निर्मातामा सहदेव बिष्ट, प्रमोद भट्टराई (प्रतीक), रिता श्रेष्ठ र मञ्जु राजबंशी छन्। फिल्म ‘स्त्री’ले महिलासम्बन्धी संवेदनशील र प्रायः टेबलभन्दा बाहिरका विषयहरूलाई कथाको केन्द्रमा राख्दै सामाजिक संदेशसहितको कथावस्तु प्रस्तुत गर्ने जनाइएको छ।

तपाईको प्रतिक्रिया