सस्पेन्स–थ्रिलर ‘अभिमन्यु’को हिन्दी भर्सन टिजर सार्वजनिक भएको छ, जसले फिल्मले प्रस्तुत गर्न खोजेको रहस्य, तनाव र रोमाञ्चकता स्पष्ट झल्काउँछ। १ मिनेट ४० सेकेण्डको टिजरमा प्रेम, अपराध र मनोवैज्ञानिक द्वन्द्वलाई आपसमा गाँसेर प्रस्तुत गरिएको छ। पैसाका लागि भएको योजनाबद्ध अपहरण र त्यसपछि सुरु हुने प्रहरी अनुसन्धान यस टिजरको मुख्य पाटो बनेको छ, जसले दर्शकलाई अन्तिम क्षणसम्म जिज्ञासु बनाइ राख्ने संकेत गर्छ।
टिजरको विशेष आकर्षण मानिएको छ—हिन्दी डबिङ। अभिनेता कामेश्वर चौरासियाको पात्रलाई ‘केजीएफ’ हिन्दी भर्सनका चर्चित भ्वाइस आर्टिस्ट सचिन गोलेले दिएको आवाज निकै प्रभावशाली सुन्छ। गोलेले केही समयअघि स्वरांकनका क्रममा फिल्मले निकै मिहिनेतसहित तयार भएको उल्लेख गरेका थिए।
मंसिर २८ गतेबाट नेपाली र हिन्दी दुवै संस्करण एकैसाथ रिलिज हुन लागिरहेको ‘अभिमन्यु’मा कामेश्वर चौरासियासँगै लक्ष्मी बर्देवा, शिशिर वाङ्देल, सरिता गिरी, गौमाया गुरुङ र किरण श्रेष्ठको दमदार अभिनय छ। संगीतकारको परिचयबाट निर्देशक बनेका सुशान्त गौतमले निर्देशन गरेको यो फिल्म मुकेश खनालको लेखन र शरद महतोको सिनेमाटोग्राफीमा तयार भएको हो।
फिल्मका निर्माता विनोद पौडेल र गुञ्जन गिरी हुन्। पौडेलकै अघिल्लो निर्माण ‘पूर्णबहादुरको सारङ्गी’ले बक्स अफिसमा उल्लेखनीय सफलता पाएको थियो। ‘अभिमन्यु’मा रमेश चौलागाईं र हरि श्रेष्ठ सह-निर्माता छन्। फिल्ममा मनोज श्रेष्ठको भिएफएक्स, जुनिम गहतराजको कलर ग्रेडिङ र मदन घिमिरेको सम्पादन समावेश छ।




































