गुरुप्रसाद मैनालीको चर्चित कथामा आधारित फिल्म ‘परालको आगो’ को छायाङ्कन ४० दिनमै सम्पन्न भएको छ। दसैँअघि म्याग्दीका विभिन्न स्थानबाट सुरु गरिएको छायाङ्कन मंगलबार औपचारिक रूपमा सकिएको निर्माण टिमले जनाएको छ भने सुटिङ सकेसँगै निर्माण पक्षले फिल्मका तीन फरक–फरक लुक्स सार्वजनिक गर्दै प्रदर्शन मिति बैशाख ११ घोषणा गरेको छ। निर्माता सुशील पोखरेलका अनुसार फिल्मका चार गीतसहित सम्पूर्ण छायाङ्कन योजना अनुसार पूरा गरिएको हो।
जेनजी आन्दोलनका कारण केही अवरोध आए पनि प्राविधिक टोली र निर्देशकको निरन्तर मेहनतले निर्धारित समयमै काम सम्पन्न गर्न सफल भएको उनले बताए। फिल्ममा सौगात मल्ल, प्रकाश सपुत, सुहाना थापा, सिर्जना अधिकारी, शंकर आचार्य, किशोर भण्डारी, कुलदीप अधिकारी, सरिता भण्डारी, रेणु न्यौपाने तथा बालकलाकार एन्जिला बाँनिया को दमदार अभिनय रहनेछ।
सुशील देवकोटाको लेखन र लक्ष्मण सुनारको निर्देशनमा तयार भएको फिल्मले ग्रामीण जीवन, सामाजिक यथार्थ र भावनात्मक द्वन्द्वलाई प्रभावकारी रूपमा प्रस्तुत गर्ने अपेक्षा निर्माण टिमले व्यक्त गरेको छ।




































