माघे संक्रान्तिको माहोलसँगै माघ १ गतेबाट दर्शकसमक्ष आउने तयारीमा रहेको फिल्म ‘मिरमिरे’ ले पोस्टर सार्वजनिक भए लगत्तै अन्तर्राष्ट्रिय बजारमा निकै चर्चा बटुलेको छ। विदेशमा यसप्रतिको चाख बढेपछि निर्माण पक्षले अन्तर्राष्ट्रिय प्रदर्शन अधिकार बिक्री प्रक्रिया सुरु गरेको जनाएको छ। पहिलो चरणमै इजरायल, युएई, कतार, बहराइन र मलेसिया– यी पाँच देशमा फिल्म प्रदर्शनका लागि अधिकार बिक्री भइसकेका छन्। यो पाँचै देशका लागि आशिष इन्टरटेन्मेन्टले राइट्स खरिद गरेको हो त्यस्तै ‘जेरी अन टप’, ‘बलिदान’, ‘जनै हराएको मान्छे’, ‘पिताम्बर’, ‘होस्टेल ३’ लगायतका फिल्म मध्यपूर्वमा सफलतापूर्वक ल्याइसकेको यो कम्पनीले ‘मिरमिरे’को स्टारकास्ट र चर्चालाई हेरेर अधिकार सुरक्षित गरेको बताएको छ।

यम शेर्पा निर्देशित फिल्ममा दयाहाङ राई, सिर्जना निङलेखु र प्रकाश सपूत मुख्य भूमिकामा छन्। निर्देशक शेर्पाको पहिलो फिल्म ‘कार्साङ’मा दयाहाङ–सिर्जनाले श्रीमान–श्रीमतीको जोडी भर्दै उत्कृष्ट प्रशंसा पाएका थिए। ‘जारी २’मा पनि उनीहरूको सहकार्य देखिएको थियो। तर दयाहाङ र प्रकाश सपूत भने पहिलोपटक एउटै फ्रेममा देखिन लागेका हुन्, जसले दर्शकमा थप उत्सुकता जगाएको छ।

यार्सा फिल्म्सको प्रस्तुति रहेको ‘मिरमिरे’मा माओत्से गुरुङ, छुल्ठिम गुरुङ, भोलाराज सापकोटा, दिविशा पन्त, चिराग श्रेष्ठ, नमनराज गजुरेल र बाल कलाकार शाइसा गौचनलगायत कलाकारहरूको समेत दमदार उपस्थिति रहनेछ। फिल्मको कथा निर्देशक शेर्पाकै लेखन हो भने छायांकन आलोक शुक्लाले सम्हालेका छन्। निर्माताको भूमिकामा निमु शेर्पा, छोङ्बा लामा शेर्पा र आङ्छिरिङ शेर्पा छन्। पोस्टर सार्वजनिक भएपछि बढेको अन्तर्राष्ट्रिय आकर्षणले ‘मिरमिरे’ प्रदर्शनअघि नै चर्चाको शिखरमा पुगेको छ। माघ १ गतेबाट दर्शकले फिल्म हेर्न पाउनेछन्।

तपाईको प्रतिक्रिया