बाबु र छोरीबीचको मर्मस्पर्शी सम्बन्धलाई मुख्य विषय बनाएको फिल्म ‘मिरमिरे’ को टिजर सार्वजनिक गरिएको छ। यम शेर्पाको लेखन तथा निर्देशनमा बनेको यो फिल्म माघ १ गतेदेखि देशभर प्रदर्शनमा आउने तयारीमा छ।

शुक्रबार सार्वजनिक टिजरले दयाहाङ राईले निभाएको एक समर्पित बाबुको भूमिकालाई केन्द्रमा राखेको छ भने आमाको साथविहिन छोरी साइसा गौचन को लालनपालन, शिक्षा र भविष्यका लागि संघर्षरत बाबुको संवेदनशील यात्रा टिजरमा स्पष्ट अनुभूत देखिन्छ । छोरीको हेरचाहका लागि दयाहाङ स्कुलमा काम गरिरहेको दृश्यले कथाको भावनात्मक गहिराइ उजागर गरेको छ।

यसमा सिर्जना निङलेखु स्कुलकी शिक्षिका रूपमा प्रस्तुत छिन् र  उनको चरित्र दयाहाङ र प्रकाश सपूतबीच त्रिकोणात्मक प्रेमको संकेत गर्दै टिजरमा रोचकता थपिएको छ। संवाद र दृश्यले प्रेम, परिवार र निर्णयबीचको जटिलता झल्काउँछन्। यार्सा फिल्म्सको ब्यानरमा बनेको चलचित्रमा दयाहाङ राई, प्रकाश सपूत, सिर्जना निङलेखु, माओत्से गुरुङ, छुल्ठिम गुरुङ, भोलाराज सापकोटा, साइसा गौचन, दिविशा पन्त, चिराग श्रेष्ठ र नमनराज गजुरेल लगायत कलाकारको अभिनय छ।

फिल्मका निर्मातामा निमु शेर्पा, छोङ्बा लामा शेर्पा र आङ्छिरिङ शेर्पा रहेका छन् भने सह–निर्माता गोविन्द बोहरा र सुदिप कुँवर छन्। आरआर फिल्म्सका रोहित कट्टेल कार्यकारी निर्माता तथा फिल्मका देशव्यापी वितरक हुन्। फिल्ममा सुदिप कुँवर मुख्य सहायक निर्देशक, वीरेन्द्र शाही लाइन प्रोड्युसर, सञ्जु थलाङ लिम्बु मेकअपमा र दिलीप पन्त निर्माण नियन्त्रकका रूपमा छन्।

तपाईको प्रतिक्रिया