ज्ञानेन्द्र देउजाको निर्देशनमा बन्न लागेको बहुप्रतिक्षित सिक्वेल ‘झिँगेदाउ २’ को छायांकन सोमबार काभ्रेपलान्चोकको पनौतीबाट शुभमुहूर्तसहित सुरु गरिएको छ। मुहूर्तपछिको पहिलो सट अभिनेता आर्यन सिग्देलले दिएका हुन्।
फिल्मका लागि लामो दाह्री पालेका आर्यनको लुक्सले उनलाई गाउँले युवकको भूमिकामा प्रस्तुत गरिएको अनुमान बढेको छ। करिब साढे तीन करोड लागत अनुमान गरिएको यो फिल्म ६० दिनको सेड्युलमा विभिन्न स्थानमा छायांकन हुनेछ त्यस्तै पनौतीमा निर्माण गरिएको भव्य सेटसहित काठमाडौं, भक्तपुर, साँखु, तनहुँ, बन्दीपुर, देवघाट, दोलखा, चित्लाङ र पालुङमा समेत छायांकन योजना तय गरिएको छ भने कपनगढी सिनेमा र फिल्म क्रिउ नेपालको संयुक्त ब्यानरमा निर्माण भइरहेको ‘झिँगेदाउ २’ लाई आगामी वर्षको दसैंमा रिलिज गर्ने तयारी छ।
फिल्ममा आर्यन सिग्देलसँगै सरोज खनाल, महेश त्रिपाठी, केकी अधिकारी, आँचल शर्मा, कुशल बिष्ट, बसुन्धरा भुषाल, हिँउवाला गौतम र अभय राज बराललगायतका कलाकारको अभिनय रहनेछ। कथा निर्देशक देउजाकै रहेको फिल्मको पटकथा परिच्छेद सेन, गोविन्द फुयाल र शिशिर चालिसेले लेखेका छन् भने टिममा विष्णु घिमिरे ‘कल्पित’ छायांकन, रोशन श्रेष्ठ द्वन्द्व निर्देशन, रामजी लामिछाने कोरियोग्राफी, अर्जुन पोखरेल संगीत र मित्र डी गुरुङ सम्पादनका लागि जिम्मेवारीमा छन त्यस्तै फिल्मका निर्माता सुलभ प्रतिक देउजा र समीक्षा देउजा हुन्।




































