हास्य कलाकार अर्जुन घिमिरे (पाँडे)को निर्देशनमा बनेको फिल्म ‘झरिपछिको इन्द्रेणी’ ले नेपाली फिल्म क्षेत्रमा दुर्लभ मानिने पुस्तागत समिश्रण प्रस्तुत गरेको छ। पुराना, स्थापित र नयाँ अनुहारहरू एकै फ्रेममा देखिनु नै यो फिल्मको सबैभन्दा ठूलो विशेषता बनेको छ, जसका कारण प्रदर्शनअघि नै दर्शकको उत्सुकता बढ्दो छ। दुई दशकअघि नेपाली सिनेमामा लोकप्रिय नाम बनाएका गणेश उप्रेती यो फिल्ममार्फत झण्डै ९ वर्षपछि ठूलो पर्दामा फर्किंदै छन्। ‘भाग्य रेखा’, ‘लक्ष्मी पूजा’, ‘ए मेरो हजुर’ जस्ता स्मरणीय फिल्मबाट दर्शकको मन जितेका गणेशको कमब्याकले ‘जेन एक्स’ पुस्तामा विशेष कौतुहलता थपेको छ।

त्यस्तै, अघिल्लो पुस्ताका सुपरस्टार रमेश उप्रेती पनि करिब ७ वर्षपछि यही फिल्ममार्फत पर्दामा देखिन लागेका छन्। उनको गम्भीर र सशक्त अभिनयले फिल्मको कथालाई थप गहिरो बनाउने अपेक्षा गरिएको छ। यसै फिल्मबाट दीपाश्री निरौला पनि दर्शकमाझ पुनः उपस्थित हुँदैछिन्। साथै, निर्मल शर्मा र प्रकाश घिमिरे जस्ता अनुभवी कलाकारहरूको उपस्थितिले फिल्मलाई मजबुत बनाएको छ। नयाँ पुस्ताको प्रतिनिधित्व गर्दै जेनजी दर्शकमाझ लोकप्रिय प्रियना आचार्य (मुन्नी) ले फिल्ममा अभिनय गरेकी छन्। साथै, विमोचन दवाडी र जेसिका पोखरेल को यो डेब्यु फिल्म हो। निर्देशक अर्जुन घिमिरे स्वयंको अभिनय पनि फिल्ममा समावेश भएकाले दर्शकका लागि थप रोचक अनुभव हुने अनुमान गरिएको छ।

देशको वर्तमान राजनीतिक अस्थिरता, त्यसले आम नागरिकमा पारेको प्रभाव, र नयाँ पुस्ताका युवाहरूको आकांक्षा, असन्तुष्टि र आक्रोशलाई मुख्य कथावस्तु बनाइएको फिल्ममा सरिता गिरी, देशभक्त खनाल, कृष्ण शिवाकोटी, कृष्णभक्त महर्जन, अंशु महर्जन लगायतका कलाकारको पनि अभिनय रहेको छ। अनिशा सेन्दाङ लिम्बू निर्माता रहेको फिल्म पुष ४ गतेदेखि देशभर प्रदर्शनमा आउँदैछ। सामाजिक यथार्थ, पुस्तागत सोच र समसामयिक राजनीतिक सन्दर्भलाई एउटै कथामा बुनेको ‘झरिपछिको इन्द्रेणी’ ले नेपाली दर्शकलाई फरक स्वाद दिने विश्वास गरिएको छ।

तपाईको प्रतिक्रिया