अभिनेत्री बेनिशा हमाल मुख्य भूमिकामा रहेको फिल्म ‘बिगुल’को टिजर आइतबार सार्वजनिक भए पनि उनले हालसम्म उक्त टिजर आफ्ना सामाजिक सञ्जालमार्फत सेअर गरेकी छैनन् । यही कारणले उनी फिल्मको टिमसँग असन्तुष्ट भएको चर्चा चलिरहेका बेला बेनिशाले सोमबार फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गरेकी छन् ।

उनको पोस्टमा फिल्मको नाम उल्लेख नभए पनि टिजरमा समावेश गरिएको एक संवादप्रति उनले स्पष्ट आपत्ति जनाएकी छन् । टिजरको अन्त्यतिर बेनिशाकै आवाजमा सुनिने ‘अब कुनै पनि हालतमा जेनजीहरूको भावना मर्नु हुँदैन’ भन्ने संवाद फिल्मको कथासँग मेल नखाने र फिल्ममै नरहेको विषय भएको उनको भनाइ छ ।

प्रचारका लागि फिल्ममा नै नभएका सन्दर्भ जोड्ने अभ्यासलाई आफूले समर्थन नगर्ने उल्लेख गर्दै उनले यस्ता गतिविधिको हिस्सा नबन्ने स्पष्ट संकेत दिएकी छन् । पेशागत मूल्य र आचरणप्रति आफू सधैं प्रतिबद्ध रहेको बताउँदै बेनिशाले लेखेकी छन् कि एक कलाकारका रूपमा के साझा गर्ने र के नगर्ने भन्ने सीमा उनलाई स्पष्ट छ ।

उनले फिल्मसँग प्रत्यक्ष सम्बन्ध नराख्ने विषयलाई वा अरूको भावनालाई प्रचारको माध्यम बनाउने प्रवृत्तिप्रति असहमति जनाउँदै मानवीय मूल्य र मर्यादाको सम्मान नै आफ्नो प्राथमिकता रहेको स्पष्ट पारेकी छन् ।

तपाईको प्रतिक्रिया