फिल्म ‘मन बिनाको धन’ले घरेलु बक्स अफिसमा सुखद् व्यापार गरेपछि निर्देशक टंक बुढाथोकी फेरि नयाँ प्रोजेक्टको तयारीमा जुटेका छन् । यहीँ शुक्रबार उनले शीर्षकसहित नयाँ फिल्म ‘बा–आमा’ निर्माणको औपचारिक घोषणा गरेका हुन् । आफ्नै चर्चित गीत ‘बा–आमा’बाट प्रेरित भएर बन्ने यो फिल्मको निर्देशन टंक स्वयंले गर्नेछन् ।
मुख्य भूमिकामा अशोक दर्जी र एआर बुढाथोकी रहने पक्का भएको छ भने यी दुवै कलाकारले ‘मन बिनाको धन’मा पनि मुख्य भूमिका निभाएका थिए । तर अन्य कलाकारको छनोट भने स्क्रिप्ट पूरा भएपछि मात्र गरिने निर्देशक बुढाथोकीले जानकारी दिए ।
फिल्मको कथा टंक बुढाथोकी स्वयंको रहनेछ भने पटकथा तथा संवाद शिवम् अधिकारीले लेखिरहेका छन् । निर्देशकका अनुसार स्क्रिप्ट लेखन अन्तिम चरणमा पुगेको छ र आगामी बैशाखदेखि छायांकन सुरु गर्ने योजना छ । फिल्मको शीर्षक चलचित्र विकास बोर्डमा दर्ता भइसकेको पनि उनले स्पष्ट पारे ।
पारिवारिक तथा सामाजिक कथावस्तुमा आधारित हुने यो फिल्म टंक बुढाथोकी प्रोडक्सनको प्रस्तुतिमा निर्माण हुँदैछ । विष्णुमाया मैनाली निर्माता रहने फिल्ममा उनले पहिलो फिल्म ‘मन बिनाको धन’बाटै मुनाफा हासिल भएपछि दोस्रो फिल्म निर्माणमा थप उत्साहका साथ लागेको बताएकी छन् । सफलताको स्वादपछि ‘बा–आमा’ लिएर टंक बुढाथोकी पुनः दर्शकमाझ कस्तो प्रभाव छाड्नेछन् भन्ने प्रतीक्षा अहिले नै सुरु भएको छ ।




































