नेपाली फिल्ममा सामान्यतया प्रदर्शन मिति तय भएपछि मात्र प्रचार सामग्री सार्वजनिक गर्ने चलन छ तर, नयाँ फिल्म ‘प्रतिवैरम’ ले यो परम्परा तोड्दै रिलिज मिति घोषणा नहुँदै आफ्नो टिजर सार्वजनिक गरेको छ । १ मिनेट २९ सेकेन्ड लामो टिजरले फिल्मको कथावस्तु, परिवेश र विषयवस्तुबारे स्पष्ट संकेत दिएको छ ।
टिजरमा दाइजो प्रथा, अवैध धन्दा र सामाजिक राजनीतिक विकृतिहरूलाई कथाको केन्द्रमा राखिएको देखिन्छ ।त्यस्तै मधेस क्षेत्रको वास्तविक जीवन, त्यहाँका समस्या र संघर्षलाई यथार्थपरक ढंगले प्रस्तुत गर्ने प्रयास टिजरमै महसुस गर्न सकिन्छ ।
रोशन दासको निर्देशनमा बनेको यस फिल्ममा सम्राट दास, सुप्रज्ञा शर्मा, विरेन्द्र कुशवाहा, अलिशा बस्तोला, रोन्नी यादव, बिकी शाह, नवीन श्रेष्ठ, गीता श्री, अशिष डीके, प्रदीप ढकाल, नारायण बिके, बिके शाह, रामेश बुढाथोकी लगायत कलाकारको अभिनय रहेको छ । यसै फिल्मबाट सम्राट दासले अभिनयमा डेब्यु गरेका हुन्, जहाँ उनी एक्सन अवतारमा देखिएका छन् । त्यस्तै रेज इन्टरटेनमेन्ट र किङ वाईटीको सहकार्यमा निर्माण भएको फिल्मको कथा निर्देशक रोशन दास स्वयंले लेखेका हुन् भने पटकथा तथा संवाद युवराज भट्टराईको छ । कृष्ण बर्देवाको छायांकन र कवीर वोडको सम्पादन रहेको फिल्म नेपालीसँगै हिन्दी, मैथिली र भोजपुरी भाषामा पनि तयार गरिएको छ ।
निर्देशक दासका अनुसार ‘प्रतिवैरम’ मधेसको सौन्दर्य, सामाजिक यथार्थ र राजनीतिक संवेदनशीलतालाई इमानदार रूपमा प्रस्तुत गर्ने उद्देश्यले निर्माण गरिएको हो । दर्शकलाई मनोरञ्जनसँगै सशक्त सन्देश दिने विश्वास उनले व्यक्त गरेका छन् भने उनका अनुसार फिल्मलाई २०८३ सालको जेठ महिनामा प्रदर्शन गर्ने लक्ष्य राखिएको छ ।




































