प्रणय दिवसको माहोललाई अझै रोमान्टिक बनाउँदै माघ २३ गतेबाट प्रदर्शन तयारीमा रहेको फिल्म ‘रमिताको पिरती’ले नयाँ गीत ‘जुनीभर’ सार्वजनिक गरेको छ। प्रेमको गहिरो अनुभूति बोकेको यो गीतले दर्शक , श्रोतामाझ भावनात्मक स्पर्श छोड्ने अपेक्षा गरिएको छ। महेश काफ्लेको शब्द, संगीत र स्वर रहेको गीतमा अस्मिता अधिकारीले मधुर साथ दिएकी छिन्। युवकले युवतीलाई जुनीभर आफ्नो बनाउन चाहने भावनालाई गीतमार्फत सरल तर प्रभावकारी ढंगले प्रस्तुत गरिएको छ।

कृतिका बरालको कोरियोग्राफीमा तयार भएको भिडियोमा फिल्मका मुख्य जोडी आना शर्मा र विनय श्रेष्ठको रोमान्टिक केमेस्ट्री देख्न सकिन्छ। नोकझोंकदेखि प्रेमिल क्षणसम्म समेटिएको भिडियो तराईका हराभरा फाँट र नदीको बगरका सुन्दर दृश्यले सजिएको छ, जसले गीतलाई अझ आकर्षक बनाएको छ । सुदिप्ताको निर्देशनमा बनेको फिल्ममा आना र विनयसँगै समीर श्रेष्ठ, धीरज मगर, गौमाया गुरुङ, पशुपति राई, रेनु योगी र थिन्ले ल्हामो लगायत कलाकारहरूको अभिनय रहेको छ भने गायक समीर श्रेष्ठको यो डेब्यु फिल्म हो।

सुदिप्ताकै लेखनमा बनेको यस फिल्ममा शिशिर विशाङ्खेले छायांकन गरेका छन् भने सम्पादन सुनिल सिवाकोटीले गरेका हुन्।
आना शर्मा र सन्तोष लम्साल कार्यकारी निर्माता रहेको फिल्ममा आरपी प्रोडक्सन, गणेश पाण्डे, सुभाष कोइराला र प्रवेश लामिछाने एसोसिएट निर्माताको रूपमा जोडिएका छन्। फिल्ममा समीर श्रेष्ठ, सुशान्त केसी, महेश काफ्ले, अस्मिता अधिकारी र कुशल पोखरेलको संगीत समावेश छ। एक युवतीको जीवन, संघर्ष र प्रेमका आरोह , अवरोहलाई केन्द्रमा राखेर बनेको ‘रमिताको पिरती’ भ्यालेन्टाइन आसपास दर्शकका लागि प्रेम र अनुभूतिले भरिएको छ ।

तपाईको प्रतिक्रिया