नेपाली समाजको एउटा गहिरो पीडादायी पाटोलाई पर्दामा उतार्ने तयारीमा फिल्म अस्त्र प्रोडक्सन जुटेको छ । “कोही नायक छैन, कोही खलनायक छैन मात्र सत्य छ” भन्ने सशक्त नारासहित निर्माण हुन लागेको वेब सिरिज ‘सत्य सावित्री जब सेन्टर’ ले वैदेशिक रोजगारीको नाममा युवाहरूले भोग्नुपरेको अँध्यारो यथार्थलाई उजागर गर्ने लक्ष्य लिएको छ । सोमबार सार्वजनिक गरिएको पोस्टरसँगै निर्माण पक्षले अभिनयमा रुचि भएका नयाँ तथा थिएटर कलाकारहरूका लागि कास्टिङ कल आह्वान गरेको छ । विशेषगरी पूर्वी नेपालबाट रोजगारीको खोजीमा विदेशिन बाध्य युवाहरूको कथा, उनीहरूको विवशता, सपना र टुट्दै गएको भरोसालाई सिरिजको केन्द्रमा राखिने निर्माण टिमले जनाएको छ ।

यस वेब सिरिजका लागि ५ पुरुष र ४ महिला कलाकार को खोजी गरिएको छ भने पुरुष कलाकारको उमेर सीमा १८ देखि ५० वर्ष र महिला कलाकारको १८ देखि ४० वर्ष तोकिएको छ । इच्छुक कलाकार वा आफ्नै जीवनसँग मिल्ने वास्तविक कथा साझा गर्न चाहनेहरूले ९८६३४३८९९३ र ९८२५३४९६३३ नम्बरमा ह्वाट्सएपमार्फत सम्पर्क गर्न सक्नेछन् । आवेदन दिने अन्तिम मिति २३ गते सम्म तोकिएको छ । सार्वजनिक पोस्टरमा प्रयोग गरिएको विमानको तस्बिर र “यहाँ २५० मा देश छोडिन्छ” भन्ने वाक्यांशले सिरिजको भाव स्पष्ट पार्छ ।

पासपोर्ट साइजको फोटो खिच्ने सानो खर्चदेखि देश छोड्ने अन्तिम क्षणसम्म मानवीय मूल्य कसरी ‘सस्तो’ बनाइन्छ भन्ने कटु यथार्थमाथि यसले व्यङ्ग्य गर्छ । ‘सत्य सावित्री जब सेन्टर’ मार्फत वैदेशिक रोजगारीका नाममा जोडिएका हजारौँ युवाका सपना र उनीहरूले भोग्ने वास्तविक जीवनलाई नजिकबाट नियालिनेछ । त्यस्तै  सिरिजको मुख्य पात्र भने विदेशिनु नै अन्तिम विकल्प होइन, नेपालमै केही गर्न सकिन्छ भन्ने सोच बोकेको पात्र हुनेछ, जसले कथालाई अझ सशक्त बनाउने अपेक्षा गरिएको छ ।

निर्माण टिमका अनुसार यो प्रोजेक्टमा व्यावसायिक स्टारभन्दा पनि वास्तविक अनुहारहरूलाई प्राथमिकता दिइनेछ । “यो केवल स्क्रिप्टेड ड्रामा होइन, समाजको ऐना हो,” निर्माण पक्ष भन्छ, “हामीलाई हिरो वा भिलेन चाहिएको छैन, हामीलाई त्यो सत्य चाहिएको छ, जुन धेरैले बोल्न डराइरहेका छन् । अन्धकारबाट यथार्थसम्मको यात्रा नै हाम्रो उद्देश्य हो ।” वैदेशिक रोजगारीको नाममा लुकेका पीडा, सपना र संघर्षलाई नाङ्गो रूपमा प्रस्तुत गर्ने यो वेब सिरिजले नेपाली डिजिटल कन्टेन्टमा फरक बहस सिर्जना गर्ने विश्वास निर्माण टिमको छ ।

तपाईको प्रतिक्रिया