निर्देशक कृषा चौलागाइको निर्देशनमा बन्ने नयाँ नेपाली चलचित्र ‘पारस’ मा एक्सन नायक निखिल उप्रेती मुख्य भूमिकामा अनुबन्धित भएका छन् । त्यस्तै निर्माण पक्षका अनुसार निखिलसँग कृषाले औपचारिक कागजी सम्झौता गरिसकेकी छिन् । चलचित्रमा निखिलको भूमिका कस्तो हुनेछ भन्ने विषय भने हाल गोप्य राखिएको छ । यद्यपि, निखिलको एक्सन छविलाई मध्यनजर गर्दै ‘पारस’ पनि सशक्त एक्सन ड्रामाको रूपमा तयार हुने अनुमान गरिएको छ ।
निर्देशक कृषा चौलागाइ पछिल्लो समय सामाजिक विषयवस्तु र सशक्त कथामा आधारित फिल्म निर्माणका लागि परिचित छन् । ‘पारस’मार्फत उनी दर्शकलाई फरक स्वादको चलचित्र दिने तयारीमा रहेको बताइन्छ । चलचित्रका अन्य कलाकार, प्राविधिक टिम र छायांकन मितिबारे चाँडै औपचारिक घोषणा गरिने निर्माण पक्षले जनाएको छ भने निखिल उप्रेतीको पुनरागमनसँगै ‘पारस’ले दर्शकमाझ उत्सुकता बढाएको छ ।




































