नेपाली चलचित्र ‘मितज्यू’को निर्माण पक्षले चलचित्रको सङ्गीत पक्षलाई बलियो बनाउने उद्देश्यसहित चर्चित सङ्गीतकार श्रीकृष्ण बम मल्लसँग सहकार्य गरेको छ । औपचारिक सहमति भएसँगै अब चलचित्रका सम्पूर्ण गीत , सङ्गीतको जिम्मेवारी बम मल्लले सम्हाल्ने भएका छन् । नेपाली सांगीतिक क्षेत्रमा लामो समयदेखि सक्रिय रहँदै आएका श्री श्रीकृष्ण बम मल्ल मौलिक धुन, भावनात्मक प्रस्तुति र फरक शैलीका सङ्गीतका लागि परिचित छन् । उनका अघिल्ला सिर्जनाले दर्शक तथा श्रोतामाझ राम्रो प्रभाव छाडेकाले ‘मितज्यू’को सङ्गीत पक्षप्रति अपेक्षा अझ बढेको निर्माण पक्षको विश्वास छ ।
निर्माण टिमका अनुसार ‘मितज्यू’को कथावस्तु भावनात्मक, सामाजिक र समसामयिक विषयवस्तुमा आधारित रहेकाले त्यसअनुसारको सङ्गीत तयार गरिनेछ । त्यस्तै चलचित्रमा कथा र पात्रको भावलाई अझ गहिरो बनाउने खालका गीतहरू समावेश गरिनेछन् । यसका लागि बम मल्लले नयाँ धुन, आधुनिक तथा मौलिक सङ्गीत संयोजनमार्फत दर्शकलाई फरक अनुभूति दिने तयारी गरिरहेका छन् ।
सङ्गीतकार बम मल्लले पनि ‘मितज्यू’सँगको सहकार्यलाई विशेष रूपमा लिँदै चलचित्रको कथाअनुसार श्रोताको मन छुने गीत सिर्जना गर्ने प्रतिबद्धता जनाएका छन् भने उनका अनुसार चलचित्रको भावना, परिवेश र पात्रलाई बुझेर सङ्गीत तयार गर्दा दर्शकसँग आत्मीय सम्बन्ध स्थापित हुन्छ ।




































