नेपाली चलचित्रका स्थापित अभिनेता प्रमोद अग्रहरीले बंगलादेशी चलचित्रमार्फत अन्तर्राष्ट्रिय यात्राको औपचारिक सुरुवात गरेका छन् भने उनको डेब्यु रहेको बंगलादेशी एक्सन चलचित्र ‘शार्क’ (बंगाली नाम ‘हाङ्गोर’) को टिजर सार्वजनिक भएसँगै उनी फेरि चर्चामा आएका छन् । १ मिनेट लामो टिजरमा प्रमोदलाई प्रमुख भूमिकामै प्रस्तुत गरिएको छ । टिजरभरि उनी छाएका छन् भने उनको आक्रामक र फरक एक्सन अवतार दर्शकले देख्न सक्छन् । समुन्द्रको बीचमा गुण्डाहरूसँग भिडिरहेको दृश्यले चलचित्रको कथावस्तु र एक्सन स्तरको झलक दिन्छ ।

टिजरमा शार्क माछालाई विम्बका रूपमा प्रयोग गरिएको छ, जसले चलचित्रको शीर्षकसँगै पात्रको स्वभाव पनि संकेत गर्छ । त्यस्तै
टिजरसँगै सार्वजनिक गरिएको पोस्टरमा पनि प्रमोदको नाम कलाकार सूचीमा पहिलो नम्बरमा राखिएको छ, जसले चलचित्रमा उनको भूमिकाको महत्व प्रस्ट्याउँछ । एक्सन प्रधान यो चलचित्र सन् २०२६ को इदको अवसर पारेर प्रदर्शनमा ल्याइने निर्माण पक्षले जनाएको छ । नेपाली चलचित्रमा पोजेटिभ र नेगेटिभ दुवै भूमिकामा सफल देखिएका प्रमोद पछिल्लो समय एक्सन भूमिकामा विशेष रूपमा चर्चित छन् ।

‘पिताम्बर’, ‘रावायण’ र ‘अगस्त्य : च्याप्टर १’ जस्ता चलचित्रमा उनले देखाएको अभिनय क्षमताकै कारण बंगलादेशी चलचित्रबाट अफर आएको हो भने नेपाली चलचित्रका टिजर र ट्रेलर हेरेपछि ‘शार्क’का निर्देशक ट्यानमोइ सुर्जो प्रमोदबाट प्रभावित भई उनलाई चलचित्रमा अनुबन्ध गरेका थिए । गाजी हिमोको निर्माणमा बनेको यो चलचित्रको छायांकन गत अक्टोबरमा बंगलादेशको ढाकामा सम्पन्न भएको हो । प्रमोदका अनुसार, बंगलादेशी मेकर, प्राविधिक तथा स्थानीय दर्शकबाट पाएको माया र हौसला उनका लागि अमूल्य अनुभव बनेको छ ।

छायांकनकै क्रममा अन्य बंगाली चलचित्रबाट प्रस्ताव आए पनि ‘शार्क’ प्रदर्शनपछि मात्र नयाँ प्रोजेक्टमा काम गर्ने सोच बनाएको उनी बताउँछन् । त्यस्तै टिजर सार्वजनिक भएसँगै नेपाली फ्यानहरूले नेपालमा पनि चलचित्र रिलिज गर्न माग गरिरहेका छन् । यसबारे प्रमोदले आफ्ना प्रिय दर्शकलाई निराश नबनाउने बताउँदै नेपालमा समेत ‘शार्क’ प्रदर्शन हुने संकेत दिएका छन् । आगामी दिनमा नेपाली र बंगाली दुवै चलचित्रमा सक्रिय रूपमा काम गर्ने योजनामा रहेको उनले बताएका छन् ।

तपाईको प्रतिक्रिया