नेपाली फिल्म उद्योगकी प्रथम नायिका भुवन चन्दलाई गहिरो व्यक्तिगत पीडा परेको छ । उनका श्रीमान् तथा रेडियो नेपालका चर्चित पूर्व अङ्ग्रेजी समाचार वाचक माइकल चन्दको आज शुक्रबार बिहान ७७ वर्षको उमेरमा निधन भएको हो । कलाकार सङ्घका अध्यक्ष मोहन निरौलाका अनुसार चन्दको आफ्नै निवासमा आज बिहान निधन भएको हो । लामो समयदेखि मुटु सम्बन्धी समस्याबाट पीडित रहेका चन्दको स्वास्थ्य अवस्था पछिल्लो समय कमजोर बन्दै गएको थियो । वास्तविक नाम हरिश चन्द भए पनि सञ्चार तथा कला क्षेत्रमा उनी ‘माइकल चन्द’ नामबाट व्यापक रूपमा चिनिन्थे ।

रेडियो नेपालमा लामो समय अङ्ग्रेजी समाचार वाचकको रूपमा सेवा गरेका उनी सुमधुर स्वर, स्पष्ट उच्चारण र प्रभावशाली प्रस्तुतीका कारण श्रोतामाझ अत्यन्त लोकप्रिय थिए । रेडियो नेपालसँगै उनले जर्मन सांस्कृतिक केन्द्र (गोथे इन्स्टिच्युट) मा पनि लामो समय काम गर्दै अन्तर्राष्ट्रिय सांस्कृतिक गतिविधिमा योगदान पुर्‍याएका थिए । सञ्चारकर्मीसँगै कला क्षेत्रका शुभेच्छुक र समर्थकका रूपमा पनि माइकल चन्दको पहिचान थियो । नेपाली फिल्म इतिहासमा भुवन चन्दलाई प्रथम नायिकाको रूपमा स्थापित गराउन तथा उनको कलायात्रालाई निरन्तरता दिन माइकल चन्दको महत्त्वपूर्ण भूमिका रहेको चलचित्रकर्मीहरू स्मरण गर्छन् । उनी कला क्षेत्रका एक सहयोगी, अभिभावक र सकारात्मक व्यक्तित्वका रूपमा चिनिन्थे ।

भुवन चन्द र माइकल चन्दका तीन छोरीहरू छन्, जो हाल अमेरिकामा बसोबास गर्दै आएका छन् । पारिवारिक स्रोतका अनुसार छोरीहरू नेपाल आउँदै रहेकाले स्वर्गीय चन्दको पार्थिव शरीरको अन्त्येष्टि आइतबार पशुपति आर्यघाटमा गरिने तयारी गरिएको छ । उनको निधनप्रति नेपाल चलचित्र कलाकार सङ्घसहित विभिन्न चलचित्रकर्मी, सञ्चारकर्मी तथा शुभचिन्तकहरूले सामाजिक सञ्जालमार्फत गहिरो दुःख व्यक्त गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना प्रकट गरिरहेका छन् ।

तपाईको प्रतिक्रिया