यहीँ माघ २३ गते प्रदर्शनमा आउन लागेको प्रेम कथानक नेपाली चलचित्र ‘कुमारी’ ले प्रवर्द्धनका लागि फरक र आकर्षक शैली अपनाएको छ। चलचित्रको प्रचारलाई अझ सशक्त बनाउन चलचित्र र लाइभ सङ्गीतलाई एउटै मञ्चमा जोडेर आयोजना हुन लागेको ‘कुमारी लाइभ म्युजिकल कन्सर्ट विथ केहर एन्ड द लुङा’ को ट्रेलर सार्वजनिक गरिएको छ। बिहीबार साँझ काठमाडौंमा आयोजित विशेष कार्यक्रममा चलचित्रका पार्श्व गायक केहर सिंह लिम्बु र उनको ब्यान्ड ‘केहर एन्ड द लुङा’ ले चलचित्रका चर्चित गीतहरू लाइभ प्रस्तुत गर्दै ट्रेलर सार्वजनिक गरेका हुन्। उक्त कार्यक्रममा चलचित्रसँग जोडिएको सांगीतिक यात्रा, कन्सर्ट तालिका र प्रवर्द्धन रणनीतिबारे विस्तृत जानकारी दिइयो।

बिग मार्टको प्रस्तुति तथा किङ्स हिल प्रिमियमको पावर मा आयोजना हुने यो एकीकृत प्रमोशनल टुर देशव्यापी रूपमा सञ्चालन गरिनेछ। कन्सर्ट टुरमा ब्यान्डसँगै चलचित्रका मुख्य कलाकार अबिशेक खड्का, आकृति राजभण्डारी तथा निर्देशक दिनेश राउत पनि सहभागी हुनेछन्। चलचित्र ‘कुमारी’को सांगीतिक आत्माका रूपमा स्थापित ‘केहर एन्ड द लुङा’ लाई केन्द्रमा राख्दै नेपालगन्ज, पोखरा, चितवन, काठमाडौं र दमकमा लाइभ म्युजिकल कन्सर्ट आयोजना गरिनेछ। कन्सर्ट तालिका अनुसार माघ १ गते नेपालगन्ज, माघ ३ गते पोखरा, माघ ६ गते चितवन, माघ ९ गते काठमाडौं र माघ १७ गते दमकमा कार्यक्रम हुनेछन्।

काठमाडौंमा हुने कन्सर्टकै क्रममा चलचित्र ‘कुमारी’को आधिकारिक ट्रेलर सार्वजनिक गरिने आयोजकले जानकारी दिएको छ भने माघ १ गते नेपालगन्जस्थित होटेल स्टारलाईट मा साँझ ६ बजेपछि हुने कार्यक्रमको व्यवस्थापन एक्स जेनेरेसन ले गर्नेछ।
हाल चलचित्रको गीत ‘डोको बुन्ने निगालो चोयाले’ दर्शक–स्रोतामाझ निकै चर्चित बनेको छ। त्यस्तै उक्त गीतमा केहर सिंह लिम्बु को स्वर, सागर लामिछाने मगर र सुमन तामाङ को शब्द तथा सुमन तामाङ र केहर सिंह लिम्बु को सङ्गीत रहेको छ।

कार्यक्रममा केहरले यही गीतसँगै चलचित्रको अर्को गीत ‘कता छौ मेरो फूल’ पनि प्रस्तुत गरेका थिए। प्रेम कथानक धारको सशक्त प्रस्तुति मानिएको चलचित्र ‘कुमारी’ लाई देशव्यापी लाइभ कन्सर्ट टुरमार्फत चलचित्र र सङ्गीतलाई एउटै उत्सवमा रूपान्तरण गर्ने लक्ष्य रहेको निर्देशक दिनेश राउत ले बताए ।

तपाईको प्रतिक्रिया