चलचित्र ‘कुमारी’ को प्रचार–प्रसारलाई लिएर आयोजित ‘कुमारी लाइभ म्युजिकल कन्सर्ट विथ केहर एन्ड द लुङा’ पोखरामा भव्य रूपमा सम्पन्न भएको छ । शनिबार साँझ पोखराको हल्लन चोकमा भएको कन्सर्टमा करिब ७ हजार दर्शकको उल्लेखनीय उपस्थिति रहेको थियो । कन्सर्टको मुख्य आकर्षण फिल्मका प्रमुख कलाकार अविशेक खड्का र आकृति राजभण्डारी बने । उनीहरू स्टेजमा देखिनासाथ दर्शकबाट जोरदार हुटिङ र तालीको गडगडाहट सुनिएको थियो । चर्चित गीत ‘डोको बुन्ने निगाली चोयाले’ मा कलाकारद्वयले प्रत्यक्ष नृत्य प्रस्तुत गरेपछि कन्सर्टको माहौल अझै तातेको थियो ।

 


पोखरेली दर्शकको अपार मायाप्रति कृतज्ञता व्यक्त गर्दै कलाकारद्वयले माघ २३ गतेदेखि देशभर प्रदर्शनमा आउने चलचित्र ‘कुमारी’ हेर्न आग्रह समेत गरे । साङ्गीतिक माहौललाई थप रोमाञ्चक बनाउँदै पार्श्व गायक केहरसिंह लिम्बु र उनको ब्यान्ड ‘केहर एन्ड द लुङा’ ले फिल्मका लोकप्रिय गीतहरू ‘डोको बुन्ने…’, ‘कता छौ मेरो फूल’ र ‘तिमी बिना’ सँगै आफ्ना चर्चित सिर्जनाहरू ‘सरर’ र ‘बैगुनी’ प्रस्तुत गरे । सबै गीतमा स्वर दिएका केहर र ब्यान्डको प्रस्तुतिमा दर्शकहरू झुम्दै रमाइरहेका देखिन्थे ।
बिग मार्टको प्रस्तुति र पावर्ड बाइ मा सम्पन्न कन्सर्टको स्थानीय व्यवस्थापन प्रचार ले गरेको थियो ।

माघ २३ गतेबाट रिलिज हुने ‘कुमारी’ ले देशव्यापी प्रचारका लागि कन्सर्ट टुर सुरु गरेको हो । नेपालगन्जबाट प्रारम्भ भएको यो साङ्गीतिक यात्रा विभिन्न सहर हुँदै काठमाडौँमा पुगेर समापन हुने जनाइएको छ । पोखरामा देखिएको दर्शकको उत्साहले आफू निकै उत्साहित भएको निर्देशक दिनेश राउत ले बताए । स्टेजबाटै दर्शकलाई धन्यवाद दिँदै उनले यो समर्थनले चलचित्रप्रति थप ऊर्जा र आत्मविश्वास दिएको उल्लेख गरे ।


विनिश इन्टरटेन्मेन्ट को ब्यानरमा महेन्द्र अधिकारी द्वारा निर्मित चलचित्र ‘कुमारी’ को आगामी कन्सर्ट तालिका अनुसार माघ ६ गते चितवन, माघ १० गते काठमाडौँ र माघ १७ गते झापाको दमक मा आयोजना हुनेछ ।

तपाईको प्रतिक्रिया