यही माघ १६ गतेदेखि देशभर प्रदर्शनमा आउन लागेको फिल्म ‘आ बाट आमा’ को ट्रेलर सार्वजनिक गरिएको छ। बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रमकाबीच रिलिज गरिएको ट्रेलरले पारिवारिक सम्बन्ध, भावनात्मक संघर्ष र विछोडको पीडालाई केन्द्रमा राखेको छ।

ट्रेलरमा ग्रामीण परिवेशमा हुर्किएको एक परिवारको कथा देखिन्छ, जहाँ बासुदेव र देवकीका छोरा कृष्ण पारिवारिक सुख र भविष्यको खोजीमा विदेश जाने निर्णय गर्छन्। यही निर्णयसँगै परिवारभित्रको माया, समर्पण र अलगावको पीडादायी क्षणहरू उजागर हुन्छन्। बाध्यताले परदेशिन लागेका छोराको मनोविज्ञान र आमाबुवाले सन्तानप्रति राख्ने निःस्वार्थ प्रेम ट्रेलरको मुख्य भाव बनेको छ।
फिल्ममा आमाको भूमिकामा विपना थापा र बुवाको भूमिकामा भारतीय अभिनेता प्रदीप रावत देखिएका छन्। छोराको भूमिकामा अभिनेता पल शाहको अभिनय रहेको छ। साथै सिम्रन पन्त, उषा उप्रेती, साईग्रेस पोखरेल, रविन्द्र झा लगायत कलाकारहरू पनि महत्वपूर्ण भूमिकामा छन्। ट्रेलरले त्रिकोणात्मक प्रेमकथासँगै आध्यात्मिक पक्षलाई समेत समेटेको देखिन्छ।

चन्द्र पन्तको कथा तथा निर्देशन रहेको यस फिल्मको लेखन अभिमन्यु निरवीले गरेका हुन्। कृष्ण प्रसाद सुवेदी, ओमकार पन्त, ध्रुव न्यौपाने, प्रकाश कुँवर र क्षितिज ढुंगाना निर्माता रहेको फिल्मका कार्यकारी निर्माता करण सिंह रसाली हुन्। आर्या इन्टरटेन्मेन्टको ब्यानरमा बनेको फिल्ममा छायांकन नवराज उप्रेतीले गरेका छन् भने सम्पादन साहिल खान र मिलन श्रेष्ठको रहेको छ।
फिल्म ‘आ बाट आमा’ लाई आरआर फिल्मस्ले देशभरका हलमा वितरण गर्नेछ। पारिवारिक भावनामा आधारित कथाले दर्शकको मन छोने अपेक्षा निर्माण पक्षले गरेको छ।

तपाईको प्रतिक्रिया