चलचित्र निर्माणको तयारीमा रहेको बहुप्रतीक्षित फिल्म ‘सिन्दुरे जात्रा’ ले नेपाली फिल्म उद्योगमा चासो बढाएको छ । सर्वकालीन ब्लकबस्टर ‘पूर्णबहादुरको सारङ्गी’ पछि निर्देशक सरोज पौडेल ले नयाँ प्रोजेक्टमार्फत पुनः चर्चा बटुल्न थालेका छन् । फिल्म ‘सिन्दुरे जात्रा’ को निर्देशन स्वयं सरोज पौडेलले गर्नेछन् भने ‘सारङ्गी’ कै लोकप्रिय जोडी विजय बराल र अञ्जना बराइली मुख्य भूमिकामा देखिने पक्का भएको छ । उनीहरू दुवै शुक्रबार औपचारिक रूपमा फिल्ममा अनुबन्धित भएका हुन् ।
निर्देशक पौडेलका अनुसार कलाकार छनोट बजारको ट्रेन्डभन्दा पनि कथाको आवश्यकतामा आधारित छ । उनले भने, “विजय र अञ्जनालाई लोकप्रियता हेरेर होइन, कथाले मागेकाले लिएका हौँ । बाँकी भूमिकामा पनि पात्रलाई न्याय गर्न सक्ने कलाकार मात्र छनोट हुनेछ।” फिल्मको कथा स्वयं निर्देशक पौडेलको रहेको छ भने सविन अधिकारी र वसन्त न्यौपाने ले पटकथा तथा संवाद लेखन गरेका छन् । सारंगी फिल्म्स को प्रस्तुतिमा बन्ने यस फिल्मको देशव्यापी वितरण आरआर फिल्म्स ले गर्नेछ ।
छायांकन सुरु हुनुअघि नै प्रदर्शन मिति घोषणा गर्ने तयारीमा रहेको निर्माण टिमले हालसम्म फिल्मको कथावस्तु गोप्य राखेको छ । तर, निर्देशक पौडेलले स्क्रिप्टलाई नेपाल प्रतिलिपि अधिकार रजिष्ट्रारको कार्यालयमा दर्ता गराइसकेको जानकारी दिएका छन् ।
अघिल्लो फिल्म ‘पूर्णबहादुरको सारङ्गी’ रिलिजका बेला कथा चोरीको आरोप खेप्नुपरेपछि यसपटक उनी थप सतर्क देखिएका छन् । यही कारण ‘सिन्दुरे जात्रा’ लाई लिएर निर्देशक पौडेल विशेष सावधानीका साथ अघि बढेको बुझिन्छ ।




































