अभिनेत्री आना शर्माको कार्यकारी निर्माणमा बनेको फिल्म ‘रमिताको पिरती’ ले आफ्नो ट्रेलर सार्वजनिक गर्दै प्रेमभन्दा फरक, तर गहिरो भावनात्मक कथाको संकेत दिएको छ । आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रममार्फत सार्वजनिक गरिएको करिब तीन मिनेट लामो ट्रेलरले प्रेम, आकर्षण र त्यसपछि आउने ब्रेकअपको पीडालाई केन्द्रमा राखेको छ । ट्रेलरको केन्द्रमा आना शर्मा देखिन्छिन्, जसको प्रेम जीवन निरन्तर उतारचढावमा छ । पछिल्लो समय नेपाली युवा पुस्तामा देखिँदै आएको प्रेम, धोका, ब्रेकअप, यौनिक आकर्षण र त्यससँग जोडिएका मानसिक संघर्षलाई फिल्मले कथाको मूल विषय बनाएको ट्रेलरबाट स्पष्ट हुन्छ ।
यसमा आनासँगै विनय श्रेष्ठ, धीरज मगर, समीर श्रेष्ठ, गौमाया गुरुङ र रेनु योगी लगायतका कलाकारहरूको उपस्थिति पनि देख्न सकिन्छ । ट्रेलर सार्वजनिक कार्यक्रममा निर्देशक सुदिप्ताले फिल्मलाई परम्परागत लभस्टोरीभन्दा फरक ढंगले प्रस्तुत गरिएको बताइन् । उनले भनिन्, “यो फिल्म प्रेमको सफलताभन्दा पनि ब्रेकअपको कथामा केन्द्रित छ । अहिलेसम्म धेरै फिल्महरू केटाको दृष्टिकोणबाट बने । मैले भने महिलाको नजरबाट प्रेम र ब्रेकअपपछि उसले भोग्ने मानसिक र सामाजिक अवस्थालाई देखाएकी हुँ ।
माघ २३ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको फिल्मका निर्माता सागर लम्साल हुन् भने कार्यकारी निर्मातामा आना शर्मा र सन्तोष लम्साल रहेका छन् । फिल्ममा शिशिर विशंखेले छायांकन, सुनिल शिवभक्तिले सम्पादन गरेका छन् । संगीत पक्षमा सुशान्त केसी, समीर श्रेष्ठ, महेश काफ्ले, अस्मिता अधिकारी र कुशल पोखरेलको योगदान छ भने कपिल पराजुलीको कलर तथा कृतिका बरालको कोरियोग्राफी रहेको छ । ट्रेलरले संकेत गरेझैँ, ‘रमिताको पिरती’ प्रेमभन्दा पछाडिको कथा ब्रेकअपपछि एउटी महिलाले भोग्ने भावनात्मक वास्तविकता लाई पर्दामा उतार्ने प्रयास हो, जसले दर्शकलाई नयाँ अनुभूति दिने छ ।










