माघ २३ गतेबाट प्रदर्शनमा आउने वर्षकै बहुप्रतीक्षित नेपाली प्रेमकथानक चलचित्र ‘कुमारी’ को ट्रेलर राजधानी काठमाडौंको भृकुटीमण्डपस्थित खुला स्थलमा भव्य कार्यक्रमका बीच सार्वजनिक गरिएको छ। अनुमानित १० हजारभन्दा बढी दर्शकको प्रत्यक्ष उपस्थितिमा सम्पन्न यो कार्यक्रम नेपाली चलचित्रको इतिहासमै खुला स्थानमा ट्रेलर सार्वजनिक गरिएको पहिलो र अभूतपूर्व घटनाका रूपमा स्थापित भएको छ।


खुला आकाशमुनि हजारौँ दर्शक साक्षी राख्दै प्रत्यक्ष ट्रेलर रिलिज हुनु आफ्नो लामो समयदेखिको सपना पूरा भएको निर्देशक दिनेश राउतले बताए। दर्शकको यस्तो उत्साह अब हलसम्मै पुग्ने विश्वास व्यक्त गर्दै उनले ‘कुमारी’ दर्शकको भावनासँग गहिरो रूपमा जोडिने चलचित्र भएको बताए। निर्माता महेन्द्र अधिकारीले दर्शकले दिएको मायाले आफूलाई नेपाली चलचित्रमा अझ दृढतापूर्वक अघि बढ्न प्रेरित गरेको प्रतिक्रिया दिए। कार्यक्रमलाई अझ आकर्षक बनाउँदै चलचित्रका पार्श्व गायक केहर सिंह लिम्बु र उनको ब्यान्ड ‘केहर एन्ड द लुङा’ ले विशेष साङ्गीतिक प्रस्तुति दिएका थिए। त्यसैगरी लोकप्रिय ब्यान्ड ‘इस्त्रीज’ र ‘त्रिजा प्रदान एन्ड द टुकुचा’ को प्रस्तुतीले दर्शकलाई झुमायो। साङ्गीतिक कन्सर्ट र चलचित्र प्रचारको संयोजनले कार्यक्रमलाई उत्सवमय बनाएको देखिन्थ्यो।
चलचित्रबाट डेब्यु गरेका मुख्य कलाकार अबिषेक खड्का र आकृति राजभण्डारीले हजारौँ दर्शकसँग प्रत्यक्ष साक्षात्कार गर्दै पाएको स्वागतले आफूहरू अत्यन्तै भावुक बनेको बताए। दर्शकको ताली र हुटिङले उनीहरूको आत्मविश्वास थपिएको देखिन्थ्यो।
सार्वजनिक ट्रेलरले एक संवेदनशील, भावनात्मक र रोमाञ्चक प्रेमकथाको झलक दिन्छ। प्रेमसँगै पारिवारिक सम्बन्ध, मनोवैज्ञानिक द्वन्द्व र जीवनका कठिन मोडहरूलाई ट्रेलरले सशक्त दृश्य भाषामा प्रस्तुत गरेको छ। ट्रेलर हेर्दा यो चलचित्र हेर्नुभन्दा पनि महसुस गर्नुपर्ने कथा भएको अनुभूति हुन्छ।

 

ट्रेलरमा अबिषेक खड्काले निभाएको पुरुष पात्र प्रेममा समर्पित तर परिस्थितिले थिचिएको, संवेदनशील र आक्रोशले भरिएको युवकका रूपमा देखिन्छ। संवादभन्दा बढी आँखाको भाव, मौनता र हाउभाउमार्फत उनले प्रेमभित्रको असहायपनलाई प्रभावशाली ढङ्गले प्रस्तुत गरेका छन्। त्यस्तै आकृति राजभण्डारीको पात्र आत्मसम्मान, मौन विद्रोह र भावनात्मक साहसको प्रतीकका रूपमा उभिएको छ। उनको आँखामा देखिने डर, पीडा र निर्णयका क्षणमा देखिने कठोरताले पात्रलाई अझ सशक्त बनाएको छ।
ट्रेलरमा कलाकारहरूको अभिनयसँगै सङ्गीत, सिनेमाटोग्राफी र संवाद उत्कृष्ट देखिन्छन्। कथा र भावनालाई सुन्दर ढङ्गले जोडिएको दृश्य संयोजनले दर्शकमा ठूलो उत्साह जगाएको छ। शाहिल खानले सम्पादन गरेको ट्रेलर युट्युब ट्रेन्डिङमा समेत पुगिसकेको छ।

कार्यक्रममा उपस्थित लभस्टोरी चलचित्रका स्टार आर्यन सिग्देल र ‘शाम्बाला’ की अभिनेत्री थिन्ले ल्हामोले नव–नायक अबिषेक र आकृतिलाई सफल भविष्यको शुभकामना दिएका थिए।
‘आइ एम सरी’बाट निर्देशन यात्रा सुरु गरेका निर्देशक दिनेश राउत ‘नोभेम्बर रेन’ र ‘क्लासिक’ जस्ता सफल प्रेमकथाका लागि परिचित छन्। पछिल्ला वर्षहरूमा ‘प्रसाद’, ‘प्रकाश’ र ‘पुजार सार्की’ जस्ता सामाजिक विषयमा आधारित चलचित्र निर्देशन गरेका राउत दर्शकको चाहनाअनुसार पुनः प्रेमकथामा फर्किएको बताउँछन्।

विनिश इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको तथा विकास सुवेदीले लेखेको चलचित्र ‘कुमारी’मा अबिषेक खड्का, आकृति राजभण्डारीसँगै घनश्याम जोशी, सुनिता श्रेष्ठ, आकाङ्क्षा कार्की, मधु खड्का, सनम श्रेष्ठ, सकु शाह, सरोज लामिछाने, मनषा शर्मालगायत कलाकारको अभिनय रहेको छ। छायाङ्कन सुसन प्रजापति, सम्पादन तथा कलर ग्रेडिङ सुप्रिम पराजुली र साउन्ड डिजाइन उत्तम न्यौपानेले गरेका हुन्।

यसअघि सार्वजनिक भएका ‘डोको बुन्ने’, ‘कता छौ मेरो फूल’ र ‘तिमी बिना’ जस्ता गीतले व्यापक चर्चा पाइसकेको सन्दर्भमा ‘कुमारी’को ट्रेलरले दर्शकको अपेक्षा अझ बढाएको छ। कार्यक्रममा ‘डोको बुन्ने’ गीतले ५० लाखभन्दा बढी भ्युज पार गरेको खुसीयालीमा केक काटेर दर्शकसँग खुसी साटिएको थियो। सबै गीतमा केहर सिंह लिम्बुको स्वर, सुमन तामाङको सङ्गीत तथा सागर लामिछाने मगर र सुमन तामाङको शब्द रहेको छ।

तपाईको प्रतिक्रिया