फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनको प्रभाव नेपाली फिल्म उद्योगमा पनि देखिन थालेको छ । आम नागरिकको ध्यान चुनावतर्फ केन्द्रित भएसँगै केही चलचित्रले आफ्नो प्रदर्शन योजना पुनर्विचार गर्न थालेका छन् । यही क्रममा फिल्म ‘कल्ली’ ले निर्धारित मितिमा प्रदर्शन नगर्ने निर्णय गरेको छ ।

फागुन १ गतेदेखि प्रदर्शनमा आउने तयारीमा रहेको ‘कल्ली’ अब तत्काल पर्दामा नआउने भएको हो । सोमबार निर्माता कम्पनी लेकाली इन्टरटेन्मेन्ट प्रालि का तर्फबाट किरण नेपालीद्वारा जारी विज्ञप्तिमा वर्तमान अवस्थामा सबैको प्राथमिकता निर्वाचन भएकाले त्यसको सम्मानस्वरूप फिल्मको प्रदर्शन स्थगित गरिएको उल्लेख गरिएको छ । विज्ञप्तिमा निर्वाचनपछि नयाँ सरकार गठन भई सहज वातावरण बनेलगत्तै नयाँ प्रदर्शन मिति सार्वजनिक गरिने जनाइएको छ । लक्ष्मण सुनारको निर्देशनमा तयार भएको यस फिल्ममा सौगात मल्ल, बेनिशा हमाल, उत्तम प्रधान, अर्पण थापा, सुलक्षण भारती, नाजिर हुसेन, वर्षा राउत, परिक्षा लिम्बू, बेगम नेपाली, विनोद न्यौपाने, रेयर राई, प्रियना आचार्य, अर्जुन गुरुङ, सन्जोक राणा र गीता अधिकारीलगायत कलाकारहरूको अभिनय रहेको छ । साथै, फिल्मको एक गीतमा अभिनेत्री पूजा शर्माको विशेष नृत्य समावेश गरिएको छ ।

लेकाली इन्टरटेन्मेन्ट र कस्तुरी प्रोडक्सनको सहकार्यमा बनेको ‘कल्ली’मा निर्देशक सुनारकै कथा, महेश दवाडीको पटकथा तथा संवाद, निसाल पौडेलको छायाङ्कन, मिलन श्रेष्ठको सम्पादन रहेको छ । फिल्मको संगीत आशिष अविरल, सरित राई र केतन क्षेत्रीले तयार पारेका छन् भने द्वन्द्व निर्देशन एनबी महर्जनको रहेको छ ।

तपाईको प्रतिक्रिया