गत मंसिर यता नेपाली फिल्महरूले अपेक्षित व्यापार गर्न नसक्दा फिल्म उद्योग अन्योलको घेरामा परेको छ। हलहरू सुनसान, निर्माता–निर्देशक चिन्तित र दर्शक चयनमा सतर्क देखिएका छन्। यही माहोलबीच अब उद्योगको नजर माघ १६ गते शुक्रबारदेखि प्रदर्शनमा आउन लागेको दुई फरक स्वादका नेपाली फिल्म ‘आ बाट आमा’ र ‘द ब्लू लाइट’ माथि केन्द्रित भएको छ। देशभरका मल्टीप्लेक्सहरूले बुधबारबाटै दुवै फिल्मको शो तालिका सार्वजनिक गर्दै अग्रिम टिकट बुकिङ खुला गरिसकेका छन्।

उपलब्ध तथ्यांकअनुसार शो संख्यामा ‘आ बाट आमा’ले स्पष्ट अग्रता लिएको देखिन्छ। खल्ती एपअनुसार फिल्मले शुक्रबारका लागि देशव्यापी १३८ शो पाएको छ, जसमध्ये केही शोमा अग्रिम बुकिङ उत्साहजनक देखिएको छ। अर्कोतर्फ, ‘द ब्लू लाइट’ले ६१ शो प्राप्त गरेको छ। यी दुई फिल्मको तुलना गर्दा विषयवस्तु र शैलीमै स्पष्ट भिन्नता देखिन्छ। चन्द्र पन्तको निर्देशनमा बनेको ‘आ बाट आमा’ आमा–छोराबीचको भावनात्मक सम्बन्ध, वैदेशिक रोजगारीको पीडा र त्रिकोणात्मक प्रेमकथामा आधारित छ। पारिवारिक दर्शकलाई लक्षित यो फिल्ममा विपना थापा, प्रदीप रावत (गजनी भिलेन), पल शाह, साइग्रेस पोखरेल, उषा उप्रेती, सिम्रन पन्त, रचना गौतम, विशाल पहाडी, रवीन्द्र झा, गजित बिष्ट, दिलिप उखेडा, हेमराज अधिकारीलगायत कलाकारहरूको अभिनय रहेको छ। ओमकार पन्त, कृष्णप्रसाद सुवेदी, ध्रुव न्यौपाने, प्रकाश कुँवर र क्षितिज ढुङ्गाना फिल्मका निर्माता हुन्।

त्यसैगरी, बलिराम चौहानको निर्देशनमा तयार भएको ‘द ब्लू लाइट’ फरक धारको साइकोलोजिकल थ्रिलर हो। रहस्य, मानसिक द्वन्द्व र सस्पेन्सलाई केन्द्रमा राखिएको फिल्ममा बेनिशा हमाल, अर्पण थापा, आयुष्मान देशराज जोशी, सृष्टि श्रेष्ठ, महेश त्रिपाठी र सुरक्षा इटानीको अभिनय छ। बेनिशा हमाल यो फिल्मकी कार्यकारी निर्माता समेत हुन् भने उनले यसको डिजिटल अधिकार पनि खरिद गरेकी छन्। फिल्मको कथा स्वयं निर्देशक चौहानले लेखेका हुन्। फरक–फरक दर्शक वर्गलाई लक्षित यी दुई फिल्ममध्ये कुनले हलमा दर्शक तान्ला र बक्स अफिसलाई चलायमान बनाउला भन्ने प्रश्न अहिले उद्योगको साझा जिज्ञासा बनेको छ। सुस्त बजारमा नयाँ ऊर्जा भर्ने आशासहित अब सबैको नजर माघ १६ को शुक्रबारतर्फ केन्द्रित छ।

तपाईको प्रतिक्रिया