अघिल्लो साता प्रदर्शनमा आएको एक्सनप्रधान नेपाली फिल्म ‘परिवर्तन’ छायांकनकै समयदेखि कलाकारको पारिश्रमिकलाई लिएर चर्चामा रह्यो। चर्चाअनुसार फिल्मकी मुख्य अभिनेत्री अञ्जना बराइलीले २० लाख र अभिनेता सुशील श्रेष्ठले १६ लाख रुपैयाँ पारिश्रमिक लिएका थिए। दुई कलाकारको पारिश्रमिक मात्रै ३६ लाख पुगेपछि फिल्मको लगानी संरचना माथि प्रश्न उठिरहेको थियो। तर, बक्स अफिस नतिजाले भने निर्मातालाई झनै निराश बनाएको छ। चलचित्र विकास बोर्डले सोमबार सार्वजनिक गरेको तथ्यांकअनुसार ‘परिवर्तन’ले ९ दिनमा जम्मा ३१ लाख ९ हजार ९२५ रुपैयाँ ग्रस कमाइ गरेको छ। हलको सेयर, कर र वितरकको कमिसन कटेपछि निर्माताको हातमा १० लाख रुपैयाँ पनि नपर्ने देखिन्छ। अर्थात्, स्टार पारिश्रमिक र वास्तविक व्यापारबीच ठूलो अन्तर देखिएको छ।

यही माघ १ गते (माघे संक्रान्ति) मा प्रदर्शनमा आएका अन्य तीन फिल्मको अवस्था पनि बोर्डले सार्वजनिक गरेको छ। तीमध्ये ‘गोबर गणेश’ व्यापारिक रूपमा सबैभन्दा अगाडि देखिएको छ। यसले ४८ हजार ५३ वटा टिकट बिक्री गर्दै १ करोड ३६ लाख २० हजार ८३६ रुपैयाँ ग्रस कमाएको छ। त्यसको तुलनामा सौगात मल्ल अभिनीत ‘भाइरल गोर्खे’ ले ११ हजार २९८ टिकट बिक्री गर्दै ३६ लाख १० हजार ९२५ रुपैयाँ ग्रस कमाएको छ। दयाहाङ राई र प्रकाश सपूत अभिनीत ‘मिरमिरे’ ले भने १० हजार ८८४ टिकट बिक्री गर्दै ३३ लाख ९३ हजार ७२५ रुपैयाँ ग्रस कमाइ गरेको छ। यी दुवै फिल्मको कमाइ ४० लाख पनि नकटेको देखिन्छ।

यसैबीच, बक्स अफिसको दीर्घकालीन दौडमा ‘परान’ ले नयाँ कीर्तिमान कायम गरेको छ। बोर्डको तथ्यांकअनुसार फिल्मले हालसम्म १७ करोड ८४ लाख ४७ हजार ५७६ रुपैयाँ ग्रस कमाइसकेको छ। यससँगै ‘परान’ यस वर्षकै सबैभन्दा बढी कमाइ गर्ने फिल्म बनेको छ भने नेपाली फिल्म इतिहासकै चौथो सर्वाधिक कमाउने फिल्म को सूचीमा समेत प्रवेश गरेको छ। त्यस्तै, ‘झरीपछिको इन्द्रेणी’ ले १ करोड २८ लाख ५२ हजार ३१९ रुपैयाँ ग्रस कमाएको तथ्यांक सार्वजनिक भएको छ।

तपाईको प्रतिक्रिया