फागुन १ गते, महाशिवरात्रिको पावन अवसर पारेर प्रदर्शनमा आउन लागेको चलचित्र ‘शिवांश : च्याप्टर १’ को ट्रेलर सार्वजनिक भएको छ । ट्रेलरले सुरुदेखि अन्त्यसम्म दर्शकलाई जिज्ञासा र रहस्यको घेराभित्र बाँधेर राख्छ । सार्वजनिक ट्रेलरमा अभिनेता प्रविण खतिवडा जोगीको भेषमा देखिन्छन् तर त्यो भेषभित्र एउटा क्रुर, शक्तिशाली र रहस्यमयी पात्र लुकेको संकेत ट्रेलरले दिन्छ ।

पौराणिक ‘समुद्र मन्थन’ को कथालाई आधुनिक समयको द्वन्द्वसँग जोड्दै प्रस्तुत गरिएको कथावस्तुले चलचित्रलाई फरक स्वाद दिएको छ । ‘स्पिरिचुअल एक्सन ड्रामा’ शैलीमा बनेको यस चलचित्रमा धर्म, शक्ति र अपराधबीचको सूक्ष्म सम्बन्धलाई केलाउने प्रयास गरिएको देखिन्छ । धर्मको आवरणमा गरिने अपराध र शक्ति प्राप्तिको लागि हुने खतरनाक होडबाजी चलचित्रको मूल द्वन्द्व बन्ने संकेत ट्रेलरमा पाइन्छ ।

चलचित्रलाई सन्तोष कुमार आत्रेयले निर्देशन गरेका हुन् भने भारतीय चर्चित गायक कैलाश खेरको संगीतले ट्रेलरलाई अझ प्रभावशाली बनाएको छ । विशेष गरी शिव तत्त्वसँग जोडिएको संगीतले चलचित्रप्रतिको कौतुहलता थप बढाएको छ । महाशिवरात्रिको दिन रिलिज हुने ‘शिवांश : च्याप्टर १’ ले पौराणिक विश्वास र आधुनिक समाजबीचको टकरावलाई कसरी पर्दामा उतार्छ भन्ने चासो अहिले नै दर्शकमाझ बढ्न थालेको छ ।

तपाईको प्रतिक्रिया