तीजको अवसरलाई लक्षित गर्दै भदौ २६ गतेदेखि प्रदर्शनमा आउन लागेको फिल्म ‘अक्षरा’को पहिलो पोस्टर सार्वजनिक गरिएको छ। पोस्टरले फिल्मको मुख्य पात्र ‘अक्षरा’को भावनात्मक संसारलाई प्रतीकात्मक शैलीमा प्रस्तुत गर्दै दर्शकमाझ उत्सुकता जगाउने प्रयास गरेको छ।

सार्वजनिक पोस्टरमा मुख्य अभिनेत्री न्यान्सी खड्का गाउँको ढुङ्गे चौतारोमा एक्लै बसेर गहिरो सोचमा डुबेको अवस्थामा देखिएकी छन्। उनको अनुहारमा देखिएको गम्भीर भावले जीवनको कठिन मोड, पीडा वा कुनै गहिरो संघर्षसँग जुधिरहेको पात्रको संकेत दिन्छ। पोस्टरको पृष्ठभूमिमा पातविहीन दुई रुख र अस्ताउँदै गरेको सूर्यलाई समेटिएको छ। यी दृश्यहरूले एक्लोपन, वियोग, निराशा र भविष्यप्रतिको अन्योललाई कलात्मक रूपमा अभिव्यक्त गरेको महसुस हुन्छ। उज्यालोबाट अन्धकारतर्फको यात्राले पात्रको जीवनमा आउने उतारचढावप्रति संकेत गरेको देखिन्छ।

‘१२ गाउँ’बाट अभिनेत्रीको रूपमा डेब्यु गरेकी न्यान्सी खड्काको यो दोस्रो ठूलो पर्दाको प्रस्तुति हो। उनी छिट्टै अभिनेता अनमोल केसीसँग फिल्म ‘बाटुलो जून’मा पनि देखिँदैछिन्। अमेरिकाको क्यालिफोर्नियामा आमसञ्चार अध्ययन गरेकी न्यान्सीले सन् २०२२ मा ‘मिस नेपाल इन्टरनेसनल’को उपाधिसमेत जितेकी थिइन्। भने विनय राज पौडेलको निर्देशनमा तयार भएको ‘अक्षरा’मा न्यान्सीसँगै सुशील सिटौला, सुशील पोखरेल, पुष्कर राउत, सृष्टि खड्का, उत्तम केसी, रिस्ता अधिकारी र अंशु महर्जनलगायत कलाकारको अभिनय रहेको छ।

सोनी थापा (ढुंगाना)को प्रस्तुति रहेको फिल्मका निर्माता उग्रसेन ढुंगाना र सुग्रसेन ढुंगाना हुन् भने छायांकन दिपेन बस्न्यातले गरेका छन्। निर्माण टिमले पोस्टरमार्फत फिल्मको भावनात्मक पक्षको झल्को दिएको छ, जसले आगामी दिनमा सार्वजनिक हुने टिजर र ट्रेलरप्रति दर्शकको चासो अझ बढाउने अपेक्षा गरिएको छ।

तपाईको प्रतिक्रिया