उसले भाइवरमा कोही अपरिचितलाई “हाई” भन्यो । एकै छिनमा उताबाट पनि “हलो” आइहाल्यो । ‘तिमी मलाई चिन्छौ ?’ केटीले सोधी, केटाले नचिने पनि अब चिन्ने बतायो । दुवै जनाले भाइवरमा गफ गर्दा आफुलाई कुनै समस्या नभएको जानकारी दिए । केटीले आफु बिरामी भएर घरमैं आरामका लागि बसेको बताइ । केटाले आफ्नो पनि विदाको दिन परेकोले कुरा गर्न समय मिलेको बतायो ।

दुवै जनाले आफ्ना स्कुलदेखि क्याम्पससम्मका पढाईको कुरा गरे । केटा युरोपमा रहेछ । केटी यता आफ्नै बुटिक चलाइ बसेकी । दुबै आत्मनिर्भर । नेपालमैँ बसे पनि केटी आधुनिक । १० वर्षदेखि युरोपमा रहेको केटाको आधुनिकताको कुरै गर्नु परेन । घरपरिवारको पनि कुरा भयो । केटाले आफ्ना परिवारका सबै युरोप र अमेरिकामा रहेको बतायो । केटाको यो कुराले केटीलाई अलिकति विदेशको लोभ लाग्यो ।

मनमा युरोप घुम्ने र फेसबुकमा युरोपका ठूलाठूला शालिक, हरिया घाँसका बगैंचा र रेष्टुरेन्टमा खाँदै गरेका अनि बडेमानका पुलमाथि बत्तिने कारमा कुदेको फोटो खिचेर सबैलाई देखाउने सपनाले एकै पटक पहिले मरेका आशाहरु फेरि पलाए । गएको वर्षमात्र युरोप कै कुनै देशले केटीलाई भिसा नदिएको थियो ।। कारणमा, “तिमी हाम्रो देशमा गयौ भने फर्कने आधार छैन” भनिएको थियो । त्यस यता केटीले फेसबुकमा विदेशको फोटो सजाउने सपना देख्न छोडेकी थिई ।

केटाका आफन्त पनि सबै विदेशमा छन् भने पछि केटीले कुराको रफ्तार बढाइ । केटाले पनि केटीका फेसबुकमा भएका सबै फोटा हेरि भ्यायोे । गोरा गाला, कतै घुँडाभन्दा माथिसम्म देखिएका छोटा पहिरन अनि झरनाको विचमा पालता लुगा लगाएर खिचेका फोटाले उभित्रको रसायनिक पुरुष बिउँतायो । तर, यी दुबैले आफ्ना स्वार्थका कुराको कुनै सुइँको दिएनन् ।

‘मलाई बहिनी नभन्नुस् ल । बहिनी भन्दा कस्तो कस्तो लाग्छ । खुल्नै गार्हो क्या ।’ केटीले भनी ।
उसले चाहेको यही थियो, ‘साँच्चै हो त नी । हुन्छ नी ।’ उसले सहमती जनायो ।

साथी पाएर दंग केटाले भाइवरमा नै भर्चुअल चकलेट पठायो । केटीले धन्यवाद सहित कफिका दुई कप पठाइ । कुराको गति बढ्दै गयो । केटीले आफ्ना केहि गर्नु पर्ने महत्वपूर्ण कामहरुलाई थाति राखि । केटाले पनि बल्ल पाएको सप्ताहन्तको विदामा गर्र्नै पर्ने महत्वपूर्ण कामहरु नगर्ने बरु भाइवरमैँ कुरा गर्ने निर्णय कठोर निर्णय ग-यो ।

‘वास्तवमा भन्ने हो भने’, केटाले भन्यो, ‘एउटा असल साथीको खोजीमा छु म ।’
केटी पनि फुरुगं भई उसका कुरा सुनेर । भनि, ‘साँच्चै ? म पनि । म पनि एउटा साथीकै खोजीमा थिएँ ।’
केटीले पनि आफु आजसम्म कुनै केटाको साथी नबनेको र यो साथ नै पहिलो भएको बताइ । खुशीको यो अवसरमा भाइवरमा एउटा रातो गुलाफको फूल पठायो केटाले । यो शुभ संकेतलाई सम्मानका साथ रातो ओठको चुम्वन पठाइ केटीले पनि ।

केटो खुशीले मखलेल भयो । केटी उमंगले गदगद भई ।

एकैछिन अघिको “हाई”बाट शुरु भएको कुराकानीले अब प्रेमको रुप लियो । अँध्यारो रातमा विवेक र बासना सँगै लठारिन आइपुगे । दुबैले चुम्वनको वर्षा गराए । एकले अर्कालाई खुबै माया गरेको घोषणा गरे र भविष्यमा पनि गर्ने बताए । तर यथार्थ भने दुबै जनाले भन्न चाहेनन् । दुबै जन आफ्ना स्वार्थका बन्दी थिए । राम्री केटी देख्नै नहुने कमजोरी थियो केटाको । धन भएको र विदेशमा रहेको केटालाई पासोमा पार्ने नियत केटीको । तर यतिखेर त्यस्तो देखिएन ।

‘यु आर क्युट । आइ आइक यु ‘
‘डन्ट से द्याट । यु लुक रफ एण्ड स्टील हेण्डसम । आइ लब यु ‘
‘बेबी लभ मी ‘
‘बेबी एम डाइङ फर लभ’

कुराको सिलसिला अझै सकिएन । केटीको मोवाइलको व्याट्रीले आफु मर्न लागेको संकेत ग¥यो । लोडसेडिङ्ग जो थियो । धन्न, त्यसै बखत यो अमर प्रेमलाई बचाउन भगवानले साथ दिए झैं भयो उसलाई । बत्ति आयो ।

अमर प्रेममा देखा पर्ने सानातिना व्यवधानहरु यसरी नै बाटो लाग्दै गए । यो प्रेम अब विवाहमा परिणत हुन कुनै बेर नलाग्ने कुरा केटीको मनमा फूुलझैं फक्रियो । अनि सँगै फक्रियो युरोप घुम्ने सपना । केटाको हाल अलग थियो । भाइवरमा भेटिएकीलाई जति नै गफ दिए पनि युरोपको एक्लो जीवनले उसलाई गलत बाटोमा लगि सकेको थियो ।
कमाएको पैसा जति गोरीहरुले लिन्थे ।

पहिला कमजोरी र त्यहि कमजोरी नै अहिलेको बाध्यता बन्न गयो । उ विद्यार्थी भिसामा छिरेको थियो युरोप । तर, पढाई पूरा गर्न नसके पछि देश फर्कन नसकेर उतै भासिएको । स्त्री उसको कमजोरी । पढाई पनि विगारेर घरको न घाटको भए पछि कमाएको पैसा जति सबै रातको जीवनलाई मात्र खर्चने आदत । रक्सि र चुरोटसँगको अन्तहिन र अटुट सम्बन्ध ।

भाइबरमा उनीहरु एक अर्काका राजारानी भइसके । कुराहरुको अन्तहीन श्रृङखला एक पछि अर्र्काे विषयमा गए तर कुरा टुङ्गिएन । दुबै जनाले त्यो दिन मात्र होइन, रात भर पनि गफ गरेरै विताए । रातमा के कुरा हुन सक्छ ? उही जीन्दगी, सम्बन्ध, साथ । प्रेम र प्रेमका मात्रै कुरा भए । आधुनिक जमानाका केटाकेटीलाई कुनै कुराले उनीहरुको मनको कुरा गर्न कसैले छेक्न सक्ने कुरै भएन । यहाँ त पनि कोही निस्किएन । मनका कुरा, तनका कुरा । अनि नितान्त शरिरका कुरा । उनीहरुले साइबरमै हनिमुन मनाए । शरीर बाहेक अरु सबै कुरा प्राप्त हुने गरी । रात बित्यो ।

‘हनी, रातै पो बितेछ ‘
‘कस्तो थकाई लागेझैँ पो भयो त डीयर’
अनि भोली भाइबरमै भेट्ने सहमती भयो । अब यो भन्दा बढि कुरा गर्न न त विषय थियो न त शक्ति नै । दुबै जनाको शक्ति क्षीण भएको थियो रात भरमा । दुनिया बिउँझियो, तर उनीहरु निदाए प्रेमको बिउ रोपेर ।
……………………………………………..

तर भाइवरमा त्यो भोलि फेरि कहिल्यै आएन । केटा त्यस यता कुनै दिन पनि भाइवरमा देखा परेन । केटीले इन्टरनेटका सारा विकल्पमा सर्च गरी । फेसबुकमा सन्देश पठाइ । तर उताबाट कुनै जवाफ फर्केन । केटीले यो कुरा सायद कहिल्यै बुझ्न सक्ने पनि छैन किनभने त्यसै रात पुलिसले गैरकानुनी रुपले बसेको भन्दै केटालाई जेल पु¥याएको थियो ।

-शितल दहाल

तपाईको प्रतिक्रिया