काठमाडौँ — ब्यान्डको पुनर्मिलन भइसकेपछि १९७४ एडीको एउटै उद्देश्य थियो, पूराना गीतलाई ब्यान्डकै च्यानलमा सार्वजनिक गर्ने । युट्युब च्यानललाई सक्रिय बनाउने ।
नयाँ गीतहरु त युट्युब च्यानलमा सार्वजनिक भइरहेकै थिए। तर, पूराना गीतहरु अरुका च्यानलमा थिए। त्यसैले ब्यान्ड सदस्यहरु पुराना गीतलाई नयाँ भर्सनमा गाएर आफ्नै च्यानलमा राख्न चाहन्थे।
यो अभ्यास सुरु हुँदै गर्दा देशमा कोरोना भाइरस (कोभिड-१९) ले गर्दा लकडाउन भयो। कोरोनाले गर्दा ब्यान्डको अस्ट्रेलिया टुर रोकियो। घरमा थुनिएर बस्दा ब्यान्डले घरबाटै पुराना गीत रेकर्डिङ गर्ने योजना बनायो।
त्यसपछि रेकर्ड भयो, ‘त्यो रातको’। ‘सञ्जय (श्रेष्ठ) र निराकार (याक्थुम्बा) दाइले अकस्टिक र बेस गीतार मोबाइलमै रेकर्डिङ गर्नुभयो। फिरोज (स्याङ्देन)दाइले पनि मोबाइलबाटै रेकर्डिङ गर्नुभो। मनोज (केसी)को घरमै सानो रेकर्डिङ स्टूडियो छ,’ ब्यान्ड सदस्य एड्रियन प्रधानले सुनाए, ‘मैले इलेक्ट्रिक ड्रम र भोकल रेकर्डिङ सफ्टवेरबाट रेकर्ड गरें। अहिलेको प्रविधिमा घरमै रेकर्डिङ गर्न सकिन्छ।’
एड्रियन खुमल्टार बस्छन्। सञ्जय र मनोज केसी धोबीघाट। फिरोज र निराकार भैंसीपाटी। सबैले भिन्नाभिन्नै समयमा फरक ठाउँबाट आ-आफ्नो भागको अडियो र भिडियो रेकर्ड गरे।
सुरुमा मनोजले रिदमको टाइमिङमा आफ्नो भागको रेकर्ड गराएर पठाएका थिए। त्यसपछि सबैजनाले आ-आफ्नो भाग उक्त रिदममा रेकर्ड गर्दै गए। सबै भागलाई एकमुस्ट तयार पारेर मिक्सिङ र मास्टरिङ गरेपछि गीत तयार भयो।
‘निराकार र मेरोमा रेकर्डिङ सफ्टवेयरहरु छैन। हामीले एउटा फोनमा त्यो ट्र्याक बजाएर अर्को मोबाइलमा रेकर्डिङ गर्यौं। जस्तै मेरो गीतारको भाग मैले बजाएँ,’ फिरोज लकडाउन रेकर्डिङको कथा सुनाउँछन्, ‘मनोजले आफ्नो भाग बजाएर पठायो। त्यसपछि सबैले त्यसमाथि आ-आफ्नो भाग बनाउँदै गयौं। मोबाइलबाटै भिडियो खिच्यौं।’
एड्रियनका छोरा प्रज्वलले नै उक्त गीतको मिक्सिङ गरिदिएका थिए। ब्यान्डको म्यानेजमेन्ट कम्पनी आरबिट्रेरीले गीत फाइनल गर्यो। अनि ब्यान्डकै युट्युबबाट गीत सार्वजनिक भयो।
महामारीको यो संकटमा संगीतमार्फत् दर्शक/स्रोतालाई साथ दिन यो प्रयास थालेको एड्रियन सुनाउँछन्। ‘हामी संगीतकर्मीले यस्तो संकटको बेला गर्नसक्ने भनेको मोरल सपोर्ट नै हो। सकरात्मक सन्देश दिने ठाउँमा त्यसै किसिमको सन्देश दिने, दु:ख कष्टको बेलामा सहयोग रकम उठाउन कन्सर्ट/ कार्यक्रम गर्ने नै हो। दुखको घडीमा संगीत मार्फत हामीले जे गर्न सक्छौं त्यो हामीले गरेका हौं,’ एड्रियनले भने।
यो गीतलाई सन् १९९८ मा गायक प्रधानले नै रचेका थिए। यो गीत उनको जीवनकै पहिलो गीत हो। त्यतिबेला उनी भर्खर ब्यान्डमा आबद्ध भएका थिए। ‘सम्झी बस्छु’ भन्ने एल्बमका लागि एड्रियनले उक्त गीत तयार पारेका थिए। ‘गीतारमा ई माइनर कर्डको स्ट्रमिङ गरिरहँदा यो गीत फुर्यो। ‘साथी जेम्स राईको गीतार चलाउँदै थिएँ। त्योबेला मसँग आफ्नै गीतार पनि थिएन। त्यसपछि गीतार बजाउँदै जाँदा शब्दहरु निस्कियो,’ पुराना दिन सम्झेर प्रधान नोस्टाल्जिक भए।
‘सुमी लामासँग लभ पर्दाको समयमा लेखेको गीत हो। अहिले हामीले गाएको गीतको मिक्सिङ छोरा प्रज्वलले गर्यो। आमाको लागि लेखेको गीतमा उ पनि सहभागी भयो,’ हाँस्दै थप्छन्।
‘जुनेली रातमा त्यो कालो केसमा लुकी दिन्छु म’, गीतको यो अन्तरा सुनेर ब्यान्डका सदस्य प्रधानलाई जिस्काउँदै भन्थे- केसमा लुकिदिने जुम्रा हौ र तिमी?
यो गीतको कथा सम्झँदा आज पनि प्रधान पुराना दिनमा फर्कन्छन्।
लकडाउनमा सार्वजनिक गरेको यो गीत चौथौंपटक रेकर्ड गरिएको हो। यसअघि सन् १९९८ मा यो गीत रेकर्ड भएको थियो। त्यसपछि लिमिटेड एल्बममा फेरि रेकर्ड गराएका थिए। ब्यान्डमा बाँसुरी बादक मनोज सिंह जोडिएसँगै पुन: रेकर्ड भयो। सन् २०१४ मा उनले अनप्लग भर्सन पनि सार्वजनिक गरेका थिए।
गीतलाई परिमार्जन गर्न रुचाउँछन् गायक प्रधान। ‘संगीत महासागरभन्दा ठूलो लाग्छ, कहिल्यै पनि सिकेर सकिँदैन,’ गायक प्रधान सुनाउँछन्, ‘कति गीतहरु हजारौंपटक गाएँ होला। तर चित्त बुझिरहेको हुँदैन। त्यसैले म जति सक्दो परिमार्जन गरेर गीत गाइरहेको हुन्छु, अहिले त प्रविधिले गर्दा नै घरमा रेकर्डिङ गर्न सहज भएको हो।’
यो गीतले १ हप्तामै ५० हजार बढी भ्यूज प्राप्त गर्दा ब्यान्ड सदस्य सबै दंग छन्।अमेरिका बस्दै आएका फिरोज खासमा कन्सर्टका लागि नेपाल आएका थिए। त्यसपछि अस्ट्रेलिया टुरमा जाने तयारी थियो। कोरोनाले गर्दा उनी यतै अड्किए।
‘खासमा म त रोकिरहेको छु। लकडाउन कहिले खुल्ने हो? लकडाउनले अड्कायो। ब्यान्डसँग कार्यक्रम सकेर अस्ट्रेलिया टुर जाने तयारी थियो। यतिबेला त म न्यूयोर्क पुगिसक्नुपर्ने। हाम्रो अस्ट्रेलिया टुर पनि सकिन्थ्यो। अब यहाँ खुले पनि उता कहिले खुल्ने हो,’ उनी अन्यौलमा छन्।