काठमाडौँ । नेपाल सरकारले आयोजना गर्न लागेको ‘सगरमाथा संवाद’को पहिलो संस्करणका सम्पूर्ण तयारी पूरा भएको छ। जेठ २ देखि ४ गतेसम्म सोल्टी होटल, काठमाडौँमा आयोजना हुने उक्त संवादका लागि कार्यक्रमको व्यवस्थापन समितिले मङ्गलबार पत्रकार सम्मेलनमार्फत विस्तृत जानकारी दिएको हो।

जलवायु परिवर्तन, हिमाल र मानवीय भविष्य जस्ता महत्त्वपूर्ण विषयमा केन्द्रित संवाद नेपाललाई अन्तर्राष्ट्रिय कूटनीतिक केन्द्रका रूपमा प्रस्तुत गर्नुपर्ने उद्देश्यका साथ अघि बढाइएको हो।

परराष्ट्रमन्त्री तथा सगरमाथा संवाद व्यवस्थापन समितिकी संयोजक डा. आरजु राणाका अनुसार, यस संवादमार्फत नेपाललाई तटस्थ, संवादमुखी तथा सहयोगी कूटनीतिको नेतृत्वदायी भूमिकामा उभ्याउने लक्ष्य लिएको छ। मन्त्री राणाले भन्नुभयाे, “यो संवाद नेपालको लागि मात्र होइन, सम्पूर्ण विश्वका लागि साझा मञ्च हो, जसले राष्ट्रिय आत्मविश्वास र अन्तर्राष्ट्रिय छविलाई नयाँ उचाइमा पुर्‍याउनेछ।”

विश्वका प्रमुख नेताहरूको सहभागिता

सगरमाथा संवादमा १२ भन्दा बढी मुलुकका उच्चपदस्थ विदेशी प्रतिनिधिहरू सहभागी हुनेछन्। कार्यक्रमको उद्घाटन सत्रमा प्रधानमन्त्री केपी शर्मा ओली, भारत र चीनका उच्च अधिकारीहरू, कोप-२९ का अध्यक्ष, तथा संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेसको भिडियो सन्देशसहितका सम्बोधन रहनेछन्।

प्रमुख अतिथिहरूमध्ये चीनको राष्ट्रिय कंग्रेसका उपाध्यक्ष सियाओ ची, भारतका वातावरणमन्त्री भूपेन्दर यादव, अजरबैजानका पारिस्थितिक मन्त्री बाबायभ, जापान, माल्दिभ्स, बङ्गलादेश, भुटान, कीर्गिस्तान, कतार, यूएई लगायत देशका मन्त्री तथा प्रतिनिधिहरूको उपस्थिति रहनेछ। साथै, बिम्स्टेक र सार्क महासचिवहरू, संयुक्त राष्ट्रसंघीय उच्च प्रतिनिधिहरू, विकास साझेदार संस्थाका प्रतिनिधिहरू समेत सहभागिता जनाउनेछन्।

सम्भावना र समाधानतर्फ समानान्तर सत्रहरू

सम्बोधन सत्रपछि संवादमा जलवायु परिवर्तनसम्बन्धी विभिन्न विषयमा समानान्तर सत्रहरू सञ्चालन हुनेछन्। ती सत्रमा हिमाली क्षेत्रको दिगो व्यवस्थापन, जलवायु परिवर्तनको क्षेत्रीय प्रभाव, लैङ्गिक र अन्तरपुस्तागत समता आदि विषयमा विश्लेषणात्मक छलफल हुनेछ।

यी सत्रहरूमा नीति निर्माता, राजनीतिज्ञ, विज्ञ, अनुसन्धानकर्ता तथा अन्तर्राष्ट्रिय संगठनका प्रतिनिधिहरूबीच विचार आदानप्रदान हुनेछ। संवादको माध्यमबाट विश्वव्यापी तापमान वृद्धिलाई १.५ डिग्री सेल्सियसमा सीमित गर्ने प्रतिबद्धता पुनः बलियो बनाउने उद्देश्य लिएको जनाइएको छ।

१० पूर्वकार्यक्रममार्फत तयारी पूरा

कार्यक्रमको तयारीक्रममा दसवटा पूर्वकार्यक्रमहरू सञ्चालन गरिएका थिए। संवाद व्यवस्थापन समितिका अनुसार, सबै आवश्यक तयारी अन्तिम चरणमा पुगेको छ।

यस संवादले नेपालको आवाजलाई जलवायु न्यायका विषयमा थप प्रभावकारी बनाउने र अन्तर्राष्ट्रिय कूटनीतिक पहिचानलाई मजबुत बनाउने अपेक्षा गरिएको छ।

तपाईको प्रतिक्रिया