पण्डित बाजेको लौरी’ फिल्मकी अभिनेत्री सन्ध्या केसीसँग जाडो मौसमबारे गरिएको कुराकानीः

कत्तिको जाडो लागेको छ ?
जाडो त बिस्तारै बढिरहेको छ ! पुस आधाउधि हुँदैछ। जाडो कम हुने त कुरै भएन नि !

बिहान कति बजे उड्नुहुन्छ ?
सात बजे नै हो। मेरो त सधैँ एकनास हुन्छ।

जाडो मौसम कस्तो लाग्छ ?
मलाई जाडो होस् या गर्मी दुवै मौमस उत्तिकै मन पर्छ।

जाडो मौसमको के कुरा मन पर्छ ?
जाडो मौसममा सफा मौसम हुँदा मन नै आनन्दित हुन्छ। पहिरन मन पर्छन्। जाडो मौसममा न्याना कपडा लगाएर हिँड्न पाइन्छ। त्यसपछि पारिलो घाम लोभलाग्दो हुन्छ।

जाडोमा मन नपर्ने पनि होलान् नि ?
मन नै नपर्ने कुरा त केही छैन। अँ, खाना छिटो छिटो चिसो हुन्छ। धेरै पटक खान मन लाग्छ। गर्मी मौसममा भन्दा जाडो मौसम अलि छिट्टै दिन गएजस्तो लाग्छ।

कलाकारलाई जाडो मौसमले कतिको असर गर्छ ?
कलाकारलाई त गर्मी मौसम नै ठीक। बिहान उठ्दाउठ्दै घाम माथि आइपुगेको हुन्छ। सुट गर्दागर्दै घाम अस्ताइहाल्छ। लुगा कपडा पनि धेरै बोक्नुपर्ने अवस्था हुन्छ। गर्मी मौसममा यस्तो अवस्था झेल्नु पर्दैन।

जाडो मौसममा सुटिङ गर्नुभएको छ ? छ भने स्मरणीय क्षण ?
दुई वर्षअघि एउटा विज्ञापनको सुटिङ थियो। पानीमा झिज्नुपर्ने सिन थियो। कयौँचोटि भिज्दा पनि टेक ओके भएको थिएन। सायद पुसमाघकै महिना थियो। टेक ओके नहुँदा पटक पटक पानीमा भिजेकोभिज्यै गर्नु पर्दा त म कक्रक्क परेकी थिएँ। यो सुटिङ त म सायदै बिर्सिन्छु होला।

जाडोमा कस्ता पहिरन मनपर्छ ?
मलाई टपकोटहरु लगाउन मन लाग्छ। जाडो मौसममा बजारमा आएका नयाँ नयाँ पहिरनको खोजीमा हुन्छु। मन परेको खण्डमा किनिहाल्छु।

जाडो मौसममा घुम्न कत्तिको मन लाग्छ ?
पहिला पिकनिकमा जान रमाइलो हुन्थ्यो र त्यो पिकनिकले वर्षैभरि रमाइलो दिन्थ्यो। अहिले त विभिन्न कार्यक्रममा नै व्यस्त भइन्छ। कार्यक्रममा नहुँदा घरमा नै बसेर रमाइलो गरिन्छ। अहिले त पिकनिक जाने क्रम पनि कम भएजस्तो लाग्छ।

तपाईको प्रतिक्रिया