काठमाडौं। अभिनेता विपिन कार्कीले निर्धारित समय दिएर पुस्तक निकाल्छु भनिहाल्ने अवस्था नरहेको बताएका छन्।

चलचित्रमा अभिनय गर्दाको अनुभव र आफूले निभाएको पात्रमा केन्द्रित रहेर पुस्तक लेख्दै गरेको विपिनले एक वर्षअगाडीको भेटमा बताएका थिए।

चलचित्रमा चरित्र जन्माउन, निर्माण गर्न कति गाह्रो हुन्छ? त्यसका लागि कति समय खर्चिनुपर्छ? आफूले चलचित्रमा विभिन्न चरित्र निर्वाह गर्दाको अनुभवमा आधारित रहेर पुस्तक लेख्ने विपिनले त्यतिबेला भनेका थिए। पुस्तक लेखन शुरु गरिसकेको र २०७६ सालमा बजारमा ल्याउने उनको भनाई थियो। तर, अहिले तत्काल पुस्तक ल्याउन नसक्ने विपिनले बताएका हुन्।

हालैको एक भेटमा उनले भने, –‘एक वर्षभित्रमा बजारमा ल्याउने सोँचेको थिए, त्यो समयले पुग्दोरहेनछ।’ उनले पुस्तक लेख्नु सोँचेजस्तो सामान्य नभएकोले पाठकले रुचाउने गरि लेख्न गम्भीर हुनुपर्ने बताए। उनले थपे ‘अहिले पनि आफूलाई लागेको कुरा लेखिरहेको हुन्छु। कालान्तरमा बजारमा ल्याउँछु। त्यसका लागि ४/५ वर्ष जति पनि लाग्न सक्छ।’

साहित्यमा अहिलेसम्म कलम चलाएको नदेखिए पनि आफूले फुसर्दमा पुस्तक पढ्दै आएको उनी बताउँछन्।

रङ्गमञ्चबाट चलचित्रमा आएका विपिन ‘पशुपति प्रसाद’बाट आफूलाई स्थापित गर्न सफल भएका हुन्। उनको पछिल्लो हिट चलचित्र ‘जात्रै जात्रा’ हो। यो गत जेठमा प्रदर्शनमा आएको थियो।

उनको नयाँ चलचित्र ‘सेल्फी किङ्ग’ यही माघ २४ गतेदेखि प्रदर्शनको तयारीमा छ।

तपाईको प्रतिक्रिया