वैशाख १५ सम्म देशभर लकडाउन छ । यदि, सरकारले यो मितिपछि लकडाउन खुकुलो बनायो भनेपनि चलचित्र हलहरु संचालनमा आउनका लागि केही समय लाग्नेछ ।
यसैपनि, सरकारले चलचित्र भवन वैशाख १८ गतेसम्म बन्द गर्ने निर्णय गरिसकेको छ । तर, अवस्था सामान्य हुनका लागि अझै पनि समय लाग्ने देखिन्छ ।
यसैले, लकडाउन खुलेपछि सबैभन्दा ढिलो संचालनमा सिनेमा हल नै आउनेछ । चलचित्र भवनहरु खुलेपनि दर्शकहरु तत्काल हलमा आउने वातावरण बन्ने छैन । किनकी, स्थिती सामान्य हुनका लागि केही महिना लाग्नेछ ।
चलचित्रकर्मीहरुले नै भदौ अगाडि चलचित्रका लागि दर्शक आउने वातावरण नबन्ने बताइसकेका छन् ।
यस्तो अवस्थामा यो वर्ष नेपाली चलचित्रसँग थुपै चुनौती छन् । विश्व स्वास्थ्य संगठनकै भनाइलाई आधार मान्ने हो भने पनि कोरोना भाइरसको भ्याक्सिन पत्ता नलागेसम्म यो शुन्यमा झर्ने छैन ।
सामाजिक दुरी अझै २ वर्ष कायम गर्नुपर्नेछ भन्ने खालका खबर पनि सार्वजनिक भइरहेका छन् ।
चलचित्र भवन यस्तो एउटा ठाउँ हो, जहाँ सामाजिक दुरी कायम गर्न सम्भव छैन । यसैले पनि हलमा पुगिहाल्ने र चलचित्र हेरिहाल्ने मुडमा दर्शक हुने छैनन् ।
अहिलेसम्मको परिस्थिती हेर्दा, नयाँ कुनै पनि चलचित्रका निर्माताले रिलिज मिति तोकेका छैनन् । लगानी महंगो गरेका निर्माताले केही महिना पर्ख र हेर कै सिद्धान्त अपाउनेछन् । जसले गर्दा, नेपाली चलचित्र हलमा लाग्नका लागि अझै केही महिना कुर्नुपर्नेछ ।
त्यसैले, नेपाली चलचित्र एक आपसमा जुध्ने समस्या उत्पन्न हुनेछ । यो वर्ष हललाई चलचित्रको अभाव हुने छैन् । कारण, बलिउडका अधिकांश चलचित्रको रिलिज मिति पनि पछि सरेकाले हलिउड र बलिउड चलचित्र चलाएरै हलहरु अगाडि बढन सक्नेछन् । तर, यसको असर नेपाली चलचित्रमा पर्ने निश्चित छ ।
यो वर्ष रिलिज हुने चलचित्रले कुनै न कुनै बलिउड र हलिउड चलचित्रसँग प्रतिस्पर्धा गर्नुपर्नेछ । यसले, चलचित्रको बक्स अफिसमा असर पर्ने पक्का छ ।
यो वर्ष नेपाली चलचित्र कम रिलिज हुनेछन् । चलचित्रको छायांकन पनि कम हुनेछ । यसले, चलचित्रमै निर्भर रहेर दैनिक जीवनयापन गरिरहेका चलचित्रकर्मीलाई भने असर पर्नेछ ।
यो वर्ष ठूला मेकरले चलचित्र बनाए पनि रिलिज गर्ने सोच नबनाउने देखिएको छ । जसले बक्स अफिसमा ठूलो असर पर्नेछ । नेपाली चलचित्रसँग यो वर्ष समस्याको ताती छ । यसलाई समाधान गर्ने कसरी ? सबैले सोच्नु पर्ने बेला आएको छ ।