नेपाली महिलाहरूको ठूलो पर्वका रुपमा रहेको हरितालिका तीज आउन मुस्किलले डेढ महिना बाँकी छ । विगतका वर्षहरूमा यतिबेलासम्म तीजको चहलपहल व्यापक भइसकेको हुन्थ्यो । महिलाहरू दर खान दौडिरहेका हुन्थे । तर कोरोनाले गर्दा यसपालि परिस्थिति भिन्न छ।

कोरोनाबाट जोगिनका लागि तीन महिनासम्म देशलाई लकडाउनमा राख्यो । अहिले पनि आंशिक रूपमा लकडाउन जारी नै छ। सार्वजनिक यातायात खुलेका छैनन् । पार्टी प्यालेसलगायत मानिसहरूको जमघट हुने स्थानहरूमा रोक लगाइएको छ । यसले गर्दा अहिलेसम्म तीजको माहोल तात्न सकेको छैन ।

नेपालको सांगीतिक क्षेत्रका लागि पनि महत्वपूर्ण अवसर हो, तीज । खासगरी लोकसंगीतमा संलग्न कलाकारहरू तीजमा निकै व्यस्त रहन्छन् । तीज आउनुभन्दा ३/४ महिना अगाडिदेखि तीजलक्षित गीतहरूको रेकर्ड गर्न दौडधुप सुरु हुन्छ । तीज नजिकिँदै जाँदा कलाकारहरू विभिन्न संघ–संस्थाले आयोजना गर्ने दर कार्यक्रममा नाचगान गर्न पुग्छन् । तर यसपालि कोरोनाले गर्दा सांगीतिक क्षेत्रमा पनि पहिलेजस्तो चहलपहल छैन । धेरै कलाकारहरू फुसर्दमै छन् ।

गत वर्षको तीजमा लोकगायक खुमन अधिकारीले १२ वटा गीत गाउन भ्याएका थिए । बजारमा खुमनको स्वरमा तीज गीतहरू मज्जैले घन्किए । तर यो वर्ष उनले बढीमा ३/४ वटा गीत ल्याउँदैछन् । फ्यानको आग्रह र निरन्तरताको लागि मात्र तीजको गीत गाउन लागेको उनी बताउँछन् ।

अर्का चर्चित गायक पशुपति शर्मामा पनि यसपटक तीज गीत निकाल्ने जोस पहिलेको जस्तो छैन । उनी पनि निरन्तरताकै निम्ति तीज गीत गाउन कस्सिएका छन् ।

खुमन र पशुपतिको मात्र होइन, तीज गीतमा निकै व्यस्त हुने अरू सबै गायक/गायिका यो वर्ष सुस्ताएका छन् । गत वर्षसम्म तीज आउनुभन्दा ५/६ महिनादेखि नै व्यस्त हुने गायक/गायिका यो वर्ष बल्ल चल्मलाउँदै छन् । तर पनि उनीहरूमा कुनै जोस र जाँगर भने छैन ।

कलाकारले गीत नै गाएका छैनन्ः प्रकाश भट्ट
हरेक वर्ष तीज गीतको म्युजिक भिडियो निर्देशनमा निकै व्यस्त रहने निर्देशक हुन्, प्रकाश भट्ट । उनले गत वर्ष ६२ वटा भिडियोको निर्देशन गरेका थिए । तर यो वर्ष उनले एकदेखि डेढ दर्जनसम्म गीतको पाउने अनुमान गरेका छन् ।

भट्ट भन्छन्–‘सबैलाई थाहा छ, कोरोना महामारीका कारण संगीत क्षेत्र चौपट छ । यो वर्ष कलाकारको स्टेज कार्यक्रम पनि छैन । त्यसैले, केही कलाकारले निरन्तरताको लागि मात्र गीत गाउनुभएको छ ।’

उनका अनुसार सरकारले भिडियो छायांकनका लागि कुनै नियम नबनाएका कारण पनि कलाकार अन्योलमा छन् । ठूलो टिम बनाएर गीत छायांकन गर्न सहज नहुने भएकाले पनि काम गर्न समस्या भएको उनले बताए ।

‘यसपटक कलाकारमा खासै जोस छैन । यो वर्षका तीज गीतले खासै प्रभाव नपार्ने देखेर पनि धेरै गायक/गायिका सेलाएका हुन्,’ उनले भने ।

स्टेज शून्य, गीत निकालेर के गर्नु ?
गायिका पूर्णकला बीसीले गत वर्ष ३५/३६ वटासम्म गीत गाएकी थिइन् । यो वर्ष मुस्किलले १५/१६ वटासम्म गीत गाउने उनको तयारी छ । उनले अनलाइनखबरसँग भनिन्–‘अहिले त हामीले निरन्तरताको लागि मात्र गीत गाउने हो । यो वर्ष स्टेज कार्यक्रम पनि छैन । मान्छेमा रूचि नभएपछि हामीले गाएर मात्र के गर्ने ?’

निष्कृय किन बस्ने भनेर आफूले यसपटक गीत गाउन लागेको उनले सुनाइन् । अर्की गायिका जानकी तारमी मगरले पनि यस वर्ष एक/दुई वटा गीत गाउने तयारी गरेको बताइन् । जानकीले भनिन्–‘गीत त मैले यसपटक दर्शक नचाउने खालको नै गाउँछु । अघिल्ला वर्षसम्म ५/६ वटासम्म गीत गाएकी थिएँ । यो वर्ष एक/दुईवटा मात्र गाउँछु होला ।’

उनी थप्छिन्, ‘स्टेजबाट पनि डिमान्ड आउँदैन । युट्युबबाट पनि खासै कमाइ छैन । गाएर मात्र के गर्नु ? निरन्तरता दिनका लागि मात्रै गाउन लागेकी हुँ ।’

कलाकारमा छैन जोस
यो वर्ष गीत सार्वजनिक गर्ने जोस कलाकारमा खासै छैन । विशेषगरी, तीज आउनुभन्दा ६ महिना अगाडि नै गीत सार्वजनिक गर्ने, समूह-समूह मिलेर गीत तयार गरेर भिडियो बनाउने क्रम चल्थ्यो । गीत हिट भएको खण्डमा विदेशको कार्यक्रम, देशभित्रैका तीजका कार्यक्रममा पुगेर कलाकारले लगानी उठाउँथे । राम्रा कलाकारलाई त भ्याई नभ्याई नै हुन्थ्यो ।

तीजको गीतमा कुनै न कुनै सन्देश बोकेर दर्शकमाझ आउने गरेका गायक पशुपति शर्माले पनि यसपटक पहिलेको जस्तो धेरै गीत नगाउने बताए । उनले भने–‘सबैलाई थाहा छ, लकडाउनको असर सबैतिर परेको छ । मानिसहरूमा रमाइलो गर्ने मुड पनि छैन । यसैले निरन्तरताको लागि मात्र केही गीत गाउने तयारीमा छु ।’

गायक खुमन अधिकारी पनि तीज गीतका लागि कुनै जोस नभएको बताउँछन् । उनी भन्छन्- ‘युट्युबमा भ्युज गएर मात्र हुँदैन । सार्वजनिक सभा समारोहमा पनि गीत घन्किनुपर्छ । तर योपटक मानिसहरूमा त्यो मुड नभएकाले हामीलाई पनि गीत निकाल्ने मुड छैन ।’

केही गायक-गायिकाले पनि तीज गीत बजारमा सार्वजनिक गरिसकेका छन् । प्रीति आले, दुर्गेश थापाजस्ता गायक-गायिकाको तीज गीतले बजारमा राम्रै चर्चा पाइरहेका छन् । तर उनीहरूका गीत यसपटक गतवर्षजस्तो सर्वत्र घन्किने छैन ।

सर्वत्र असर
तीजको गीत सार्वजनिक गर्न गायक/गायिकाले चासो नदेखाउँदा यसको असर सर्वत्र पर्ने पक्का छ । गीत कम रेकर्डिङ हुँदा रेकर्डिङ स्टुडियोहरूको कमाइ घट्नेछ । यस्तै, गीतको भिडियो निर्माण पनि यो वर्ष पहिलेको तुलनामा कम हुनेछ । यसले, मोडल, कोरस, निर्देशक, छायाकार, सम्पादक सबैको आम्दानीमा ठूलो असर पार्नेछ ।

तीजको गीतमा अघिल्ला वर्ष ३ करोडसम्म लगानी हुने गर्थ्यो । तर, यो वर्ष लगानी पनि कम हुने निश्चित छ ।

राम्रा गीतलाई अवसर
तीजमा जसरी पनि गीत निकाल्नुपर्छ भन्ने फेसन गत वर्षसम्म खुबै चलेको थियो । एउटा गीत रेकर्ड गर्ने र आफैँ मोडलिङ गर्नेहरू धेरै थिए । वैशाख महिनादेखि नै युट्युब, टेलिभिजनमा तीज गीतको प्रचार हुँदा राम्रा गीतहरू समेत ओझेलमा पर्ने गरेका थिए ।

यसपटक कलाकारहरूसँग गीतका लागि खर्च गरेर फिर्ता आउने बाटो छैन । तर थोरै गीत सार्वजनिक हुने हुँदा राम्रा गीतमा दर्शक तथा श्रोताको ध्यान तानिने छ । यसको फाइदा कलाकारलाई अर्को वर्षको स्टेज कार्यक्रममा मिल्न सक्छ । यसैले, राम्रा र चलेका गायक/गायिकाले यो वर्षको तीज गीतमा मेहनत गरे भने उनीहरूलाई यसले लामो समयसम्म सहयोग भने गर्नेछ।

हरेक वर्ष कलाकारहरूले तीज गीतमा समसामयिक विषयहरूलाई समावेश गर्ने गर्छन् । यस वर्ष रेकर्ड भएका वा सार्वजनिक भएका तीज गीतले कोरोनाले स्थान पाइरहेको छ । कोरोनाका कारण घरबार बिग्रेको, खुलेर नाचगान गर्न नपाएको कुराहरूलाई कलाकारहरूले गीतमार्फत अभिव्यक्त गर्दैछन्।

तपाईको प्रतिक्रिया